मानव आवाज

२०८३ कात्तिक १६ गते
00: 00: 00
२०८३ कात्तिक १६ गते

डेङ्गी रोकथाम अभियानबाट ५२ हजारभन्दा बढी प्रत्यक्ष लाभान्वित

पोखरा । नेपाल रेडक्रस सोसाइटी (नेरेसो) कास्की शाखाले सञ्चालन गरेको चारमहिने डेङ्गी रोकथाम तथा सचेतना अभियानबाट ५२ हजार ७ सय ५३ जना प्रत्यक्ष र २ लाखभन्दा बढी नागरिक अप्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको सहकार्य तथा कास्की जिल्ला शाखाको आयोजनामा २०८३ साउन १ गतेदेखि सञ्चालन गरिएको अभियान २०८३ कात्तिक १५ गते सम्पन्न भएको हो ।

नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका सभापति उर्मिला खड्का भण्डारीले समुदायका स्वयम्‌सेवक तथा विद्यालयका बालबालिकामार्फत जनचेतनामूलक गतिविधि सञ्चालन गरी डेङ्गी सङ्क्रमणको जोखिम न्यूनीकरण गर्नु अभियानको मुख्य उद्देश्य रहेको बताउनुभयो ।

अभियानका क्रममा स्वयम्‌सेवक परिचालन गरी घरदैलो कार्यक्रम, सामुदायिक तथा विद्यालयस्तरमा सचेतना, विद्यालय र समुदायमा लामखुट्टेको बासस्थान खोजी गरी नष्ट गर्ने अभियान सञ्चालन गरिएको थियो ।

यसका साथै रेडियो, पत्रपत्रिका, सामाजिक सञ्जाल तथा टोलटोलमा माइकिङमार्फत डेङ्गी रोकथामसम्बन्धी सूचना प्रवाह गरिएको थियो ।

कार्यक्रमका फोकल पर्सन नवराज भण्डारीका अनुसार अभियानबाट ५२ हजार ७ सय ५३ जना प्रत्यक्ष र २ लाखभन्दा बढी नागरिक अप्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । मौसम चिसिँदै गए पनि डेङ्गी संक्रमणको जोखिम भने कायमै रहेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार जलवायु परिवर्तन, अव्यवस्थित सहरीकरण र जनघनत्व वृद्धिका कारण पोखरामा डेङ्गी फैलाउने एडिज जातको लामखुट्टेका लागि अनुकूल वातावरण सिर्जना भइरहेको छ ।

घर तथा वरपरका खाल्डाखुल्डी, खुला बोतल, प्लास्टिकका भाँडाकुँडा, बोतलका बिर्का, फूलदानी, फ्रिजको पछाडि जम्ने पानी तथा एयर कन्डिसनरबाट निस्कने पानी लामखुट्टेको प्रजननस्थल बन्ने गरेका छन् ।

लामखुट्टेको टोकाइबाट बच्न शरीर ढाक्ने कपडा लगाउने, दिउँसो सुत्दा झुल प्रयोग गर्ने तथा घरवरपर पानी जम्न नदिने जस्ता सावधानी अपनाउन उहाँले आग्रह गर्नुभयो ।

विशेषगरी घर तथा कार्यस्थलमा पानी जम्न सक्ने भाँडाकुँडा नियमित सफा गर्ने र लामखुट्टेको लार्भा नष्ट गर्ने गतिविधिलाई निरन्तरता दिनुपर्ने उहाँको भनाइ छ ।

डेङ्गी सङ्क्रमण हुँदा उच्च ज्वरो आउने, शरीर तथा जोर्नी दुख्ने, आँखाको गेडी वरिपरि पीडा हुने, टाउको दुख्ने र शरीरमा बिमिरा देखिने जस्ता लक्षण देखा पर्न सक्छन् ।

जटिल अवस्थामा रक्तस्रावसमेत हुन सक्ने भएकाले यस्ता लक्षण देखिएमा स्वास्थ्य संस्थामा गई परीक्षण तथा उपचार गराउनुपर्ने हुन्छ ।

डेङ्गीको विशिष्ट उपचारात्मक औषधि नभएकाले बिरामीको अवस्था हेरी चिकित्सकको सल्लाहअनुसार उपचार गर्नुपर्ने हुन्छ ।

विशेषगरी चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक तथा दुखाइ कम गर्ने औषधि सेवन गर्दा स्वास्थ्यमा थप जोखिम हुन सक्ने भएकाले जथाभावी औषधि सेवन नगर्न पनि आग्रह गरिएको छ । मौसम चिसिँदै गए पनि अस्पतालमा डेङ्गीका बिरामीहरू उपचाररत रहेको भण्डारीले जानकारी दिनुभयो ।

अभियान सफल बनाउन जिल्ला प्रशासन कार्यालय कास्की, स्वास्थ्य कार्यालय कास्की, पोखरा महानगरपालिका तथा सम्बन्धित वडा कार्यालयहरू, नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय, कास्की शाखाका जिल्ला कार्यसमिति, विभिन्न उपशाखा, जुनियर तथा युवा रेडक्रस सर्कलका स्वयम्‌सेवक र अन्य सरोकारवालाको सक्रिय सहभागिता रहेको थियो ।

अभियानको अवधिमा जिल्ला सभापति उर्मिला खड्का भण्डारी, उपसभापति रमा कोइराला न्यौपाने, मन्त्री सन्तोष अधिकारी, कोषाध्यक्ष मोहनसिंह खड्का, उपमन्त्री डिल्लीराम बराल तथा सदस्यहरू सूर्यप्रसाद तिमल्सिना पालुवा, सुवास अधिकारी र श्रीकान्त पौडेलले कार्यक्रमको प्रत्यक्ष अनुगमन गर्नुका साथै आवश्यक सुझावसमेत दिनुभएको थियो ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार