पोखरा । ‘नयाँ पुस्ताका लागि शैक्षिक नवीनता : परम्परादेखि भविष्यसम्म’ भन्ने मूल नाराका साथ पोखरामा आयोजित दुईदिने अन्तर्राष्ट्रिय शिक्षक सम्मेलन २६ बुँदे ‘पोखरा घोषणापत्र’ जारी गर्दै सम्पन्न भएको छ । सम्मेलन २०८३ कात्तिक १४ गते सम्पन्न भएको हो ।
एनएफओआरएसडीटी इनोभेसन सेन्टर फर एजुकेसनको आयोजनामा तथा कर्मफ्लाइट्स फाउन्डेसन नेपाल, केपीजेड युनिभर्सिटी अफ एप्लाइड साइन्सेज र थिओ फाउन्डेसनको सहआयोजनामा सम्मेलन भएको हो ।
नेदरल्यान्ड्सस्थित वाइल्डे गान्जेन फाउन्डेसनको सहयोग तथा शिवशक्ति क्याम्पससहित सात सदस्य विद्यालयको सहभागिता र सहकार्यमा सम्मेलन आयोजना गरिएको थियो ।
सम्मेलनले नेपालको मौलिक ज्ञान, संस्कृति, मूल्य र परम्पराको संरक्षण गर्दै आधुनिक प्रविधि तथा कृत्रिम बौद्धिकताको उपयोगमार्फत शिक्षण सिकाइलाई समयानुकूल, व्यावहारिक र विद्यार्थीमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
राष्ट्रिय शिक्षक सीप विकास प्रतिष्ठानको मूल अवधारणा ‘प्रेरणा, नवप्रवर्तन र प्रभाव’ का तीन आधारस्तम्भमा केन्द्रित पोखरा घोषणापत्रले विद्यार्थीमा जिज्ञासा, सिर्जनशीलता र सिकाइप्रतिको रुचि जगाउने, शिक्षण अभ्यासमा नवीनता ल्याउने तथा सिकाइलाई वास्तविक जीवनसँग जोडेर सकारात्मक परिवर्तन सिर्जना गर्ने विषयलाई प्राथमिकता दिएको छ ।
घोषणापत्रमा शिक्षालाई परीक्षाको नतिजामा मात्र सीमित नराखी विद्यार्थीको ज्ञान, सीप, आत्मविश्वास, नैतिकता, सिर्जनशीलता र जिम्मेवारी विकासलाई सफलताको आधार मान्नुपर्ने उल्लेख गरिएको छ ।
साथै, सम्मेलनबाट सिकेका कम्तीमा एउटा नयाँ विचार आफ्नो कक्षाकोठामा कार्यान्वयन गर्न सहभागी शिक्षकहरूलाई आह्वान गरिएको छ ।
सम्मेलनले राष्ट्रिय शिक्षक सीप विकास प्रतिष्ठानअन्तर्गतको शैक्षिक नवप्रवर्तन केन्द्रलाई शिक्षकको निरन्तर पेसागत विकास, सहकार्य, अनुभव आदानप्रदान र नवीन शिक्षण अभ्यासको साझा मञ्चका रूपमा विकास गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।
उक्त केन्द्रमार्फत शिक्षक, विद्यालय तथा शैक्षिक साझेदारलाई निरन्तर सिकाइ, सहकार्य र असल अभ्यासको आदानप्रदानमा जोड्ने लक्ष्य राखिएको छ ।
सम्मेलनको उद्घाटन सत्रमा गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत शिक्षा विकास निर्देशनालयका निर्देशक घनश्याम पौडेलले शिक्षकको पेसागत विकास निरन्तर चलिरहने प्रक्रिया भएको उल्लेख गर्दै बदलिँदो शैक्षिक चुनौती सामना गर्न शिक्षकहरूको क्षमता अभिवृद्धि आवश्यक रहेको बताउनुभयो ।
शिक्षा राष्ट्रिय विकासको मेरुदण्ड भए पनि यसले अपेक्षित प्राथमिकता र बजेट पाउन नसकेको धारणा राख्दै उहाँले परीक्षामुखी शिक्षाभन्दा ज्ञान, सीप, नैतिकता, व्यावहारिक क्षमता र मानवीय मूल्यमा आधारित शिक्षामा जोड दिनुभयो ।
सम्मेलनका प्रमुख वक्ता काठमाडौँ विश्वविद्यालयका प्राध्यापक डा. बालचन्द्र लुइँटेलले ‘कृत्रिम बौद्धिकतालाई पछाडि छोडेर मानवीय चेतनामा केन्द्रित होऔँ’ विषयमा विज्ञ प्रस्तुति दिनुभएको थियो ।
उहाँले प्रविधिको तीव्र विकाससँगै शिक्षामा मानवीय चेतना, विवेक, संवेदना र नैतिकताको महत्त्वबारे चर्चा गर्नुभएको थियो ।
सम्मेलनको पहिलो दिन विभिन्न विषयगत अन्तरक्रिया तथा छलफलमार्फत विद्यार्थीकेन्द्रित, सहभागितामूलक र सिर्जनात्मक शिक्षण अभ्यासका विषयमा शिक्षकहरूबीच अनुभव आदानप्रदान भएको थियो ।
दोस्रो दिन आईएनजी इम्प्याक्ट प्रालि तथा ‘माई सेकेन्ड टिचर’को सहजीकरणमा ‘शिक्षकका लागि कृत्रिम बौद्धिकतामार्फत भविष्यको नेतृत्व’ विषयमा प्रयोगात्मक कार्यशाला सञ्चालन गरिएको थियो ।
कार्यशालामा शिक्षण तथा शैक्षिक कार्यमा कृत्रिम बौद्धिकताको प्रयोग, पाठ्यक्रमको ढाँचाअनुसार प्रश्नपत्र निर्माण, पाठयोजना तयार गर्ने तरिका, रोबोटिक्स तथा भविष्यका सीप, सामाजिक सञ्जालका लागि तस्बिर तथा भिडियो निर्माण र कृत्रिम बौद्धिकताको माध्यमबाट गीत तथा सङ्गीत सिर्जनाजस्ता विषयमा अभ्यास गराइएको कर्मफ्लाइट्स फाउन्डेसन नेपालका कार्यकारी निर्देशक प्रेमबहादुर कुँवरले जानकारी दिनुभयो ।
कार्यशालाले कृत्रिम बौद्धिकतालाई शिक्षकको प्रतिस्थापनका रूपमा नभई शिक्षण सिकाइलाई प्रभावकारी बनाउने सहयोगी साधनका रूपमा प्रयोग गर्नुपर्ने सन्देश दिएको थियो ।
साथै, विद्यार्थीमा प्रविधिको आलोचनात्मक र जिम्मेवार प्रयोग गर्ने क्षमता विकास गर्नुपर्नेमा जोड दिइएको थियो ।
पोखरा-११, फूलबारीस्थित भास्कर मेमोरियल विद्यालयमा आयोजित सम्मेलनमा ५० भन्दा बढी सामुदायिक तथा संस्थागत विद्यालयका झण्डै १ सय ५० शिक्षक तथा शिक्षाकर्मीको सहभागिता रहेको थियो ।
