पोखरा । शिक्षण सिकाइमा नवीनता, प्रविधिको प्रयोग तथा शिक्षकको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले पोखरामा दुईदिने ‘टीचर्स इन’ अन्तर्राष्ट्रिय शिक्षक सम्मेलन तथा कार्यशाला-२०२६ आयोजना गरिएको छ ।
एनएफओआरएसडीटी इनोभेसन सेन्टर फर एजुकेसनको आयोजनामा कर्मफ्लाइट्स फाउन्डेसन नेपाल, केपीजेड युनिभर्सिटी अफ एप्लाइड साइन्सेज र थिओले फाउन्डेसनको सहआयोजनामा सम्मेलन हुन लागेको हो ।
नेदरल्यान्ड्सस्थित वाइल्डे गान्जेन फाउन्डेसनको सहयोग तथा शिवशक्ति क्याम्पससहित सात सदस्य विद्यालयको सहभागिता र सहकार्यमा सम्मेलन आयोजना गर्न लागिएको हो ।
‘नयाँ पुस्ताका लागि शैक्षिक नवीनता : परम्परादेखि भविष्यसम्म’ भन्ने मूल नाराका साथ आगामी २०८३ कात्तिक १३ र १४ गते पोखरा महानगरपालिका-११ स्थित भास्कर मेमोरियल स्कुलमा सम्मेलन सञ्चालन हुनेछ ।
सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्थाका कार्यकारी निर्देशक प्रेमबहादुर कुँवरले जानकारी दिनुभएको छ ।
सम्मेलनमा पोखरा तथा गण्डकी प्रदेशका १ सयभन्दा बढी विद्यालयका करिब १ सय २० जना शिक्षक सहभागी हुनेछन् ।
सम्मेलनले शिक्षकहरूबिच अनुभव आदानप्रदान, नवीन शिक्षण विधिको अभ्यास तथा प्रविधिमैत्री शिक्षण सिकाइलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ ।
सम्मेलनको प्रमुख आकर्षणका रूपमा काठमाडौं विश्वविद्यालयको स्कुल अफ एजुकेसनका प्राध्यापक डा. बालचन्द्र लुइँटेलले राष्ट्रिय पाठ्यक्रममा कृत्रिम बुद्धिमत्ता (एआई) समावेश गर्नुको सान्दर्भिकताबारे मुख्य वक्तव्य प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
यसका साथै शिक्षामा डिजिटल रूपान्तरण, विद्यालयमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग, नवीन शिक्षण विधि र परम्परागत ज्ञानलाई आधुनिक शिक्षण अभ्याससँग जोड्ने विषयमा छलफल तथा अन्तरक्रिया हुनेछ ।
दुईदिने सम्मेलनमा नेपाली, अङ्ग्रेजी, विज्ञान, गणित, सामाजिक अध्ययन तथा सिर्जनात्मक कलासम्बन्धी विषयगत कार्यशालासमेत सञ्चालन गरिनेछ ।
शिक्षकहरूले आआफ्नो विषयअनुसारका कार्यशालामा सहभागी भई कक्षाकोठामा प्रयोग गर्न सकिने नवीन शिक्षण विधि, डिजिटल सिकाइ सामग्री निर्माण तथा विद्यार्थीको सक्रिय सहभागिता बढाउने उपायबारे व्यावहारिक ज्ञान र अनुभव आदानप्रदान गर्नेछन् ।
विषयगत कार्यशालाको समन्वय श्रीकृष्ण अधिकारीले गर्नेछन्। शिक्षणलाई पाठ्यपुस्तक र परम्परागत व्याख्यानमा मात्र सीमित नराखी विद्यार्थीको सक्रिय सहभागिता, सिर्जनशीलता र व्यावहारिक सिकाइमा जोड दिनुपर्ने उनको भनाइ छ ।
अधिकारीले आजको शिक्षाले विद्यार्थीलाई पाठ्यपुस्तकको ज्ञान मात्र दिएर नपुग्ने बताउँदै उनीहरूलाई सोच्न, प्रश्न गर्न, सिर्जना गर्न र सिकेको कुरा व्यवहारमा प्रयोग गर्न सक्ने बनाउनुपर्नेमा जोड दिएका छन् ।
सम्मेलनले शिक्षकहरूलाई अनुभव आदानप्रदान गर्न र कक्षाकोठामा नयाँ शिक्षण विधि प्रयोग गर्न प्रेरित गर्ने उनको विश्वास छ ।
त्यसैगरी, ‘माई सेकेन्ड टिचर’को सहकार्यमा सञ्चालन हुने शिक्षामा कृत्रिम बुद्धिमत्तासम्बन्धी कार्यशालाको समन्वय दिलीराम अधिकारीले गर्नेछन् ।
सम्मेलनको दोस्रो दिन सञ्चालन हुने उक्त कार्यशालामा एआईको प्रयोगबाट शिक्षण सिकाइलाई कसरी प्रभावकारी, सिर्जनशील र विद्यार्थीकेन्द्रित बनाउन सकिन्छ भन्ने विषयमा व्यावहारिक अभ्यास गराइनेछ ।
सम्मेलनको समग्र संयोजन विश्वराज बास्तोलाले गरिरहेका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शैक्षिक संस्थाहरूबिचको सहकार्यबाट शिक्षकको क्षमता विकास, नवीन प्रविधिको प्रयोग र गुणस्तरीय शिक्षण अभ्यासलाई विद्यालय तहसम्म पुर्याउनु सम्मेलनको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ ।
कार्यक्रममा नेदरल्यान्ड्सबाट आएका शिक्षाविद् तथा विद्यार्थीहरूको सहभागितामा अन्तरक्रियात्मक गतिविधि, विद्यार्थीको सहभागिता बढाउने ऊर्जाशील अभ्यास र अनुभव आदानप्रदानका सत्रसमेत सञ्चालन हुनेछन् ।
यसले नेपाली विद्यालयका शिक्षकहरूलाई अन्तर्राष्ट्रिय शैक्षिक अनुभवसँग जोड्दै बदलिँदो समय र नयाँ पुस्ताको आवश्यकताअनुसार शिक्षण सिकाइलाई थप प्रभावकारी बनाउन योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
सम्मेलनबाट शिक्षकहरूबिच सहकार्यको वातावरण विकास हुनुका साथै प्रविधिमैत्री, सिर्जनशील र विद्यार्थीकेन्द्रित शिक्षण अभ्यासलाई विद्यालय तहमा विस्तार गर्न सहयोग पुग्ने विश्वास आयोजकहरूले लिएका छन् ।