पोखरा । कास्की र तनहुँ जिल्लाको सीमा नाका क्षेत्रमा लागुऔषधको प्रयोग, ओसारपसार तथा बेचबिखन नियन्त्रण गर्ने उद्देश्यले स्थलगत अनुगमन, निरीक्षण तथा चेकजाँच गरिएको छ ।
कास्की जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र लामगादेको नेतृत्वमा २०८३ कात्तिक १२ गते सीमा नाका क्षेत्रमा अनुगमन तथा चेकजाँच गरिएको हो ।
लागुऔषध दुरुपयोग तथा अवैध कारोबार रोकथाम गर्नुका साथै सीमानाका क्षेत्रमा सुरक्षा व्यवस्था थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लामगादेले जानकारी दिनुभयो ।
अनुगमनमा जिल्ला प्रशासन कार्यालय कास्की, वडा प्रहरी कार्यालय गगनगौंडा, अस्थायी प्रहरी चौकी मजुवालगायत सुरक्षा निकाय तथा सम्बन्धित कार्यालयका प्रमुख एवं प्रतिनिधिहरू र सञ्चारकर्मीको सहभागिता रहेको थियो ।
संयुक्त रूपमा गरिएको अनुगमन तथा चेकजाँचले सीमा क्षेत्रमा हुन सक्ने अवैध गतिविधि नियन्त्रण गर्न र सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।
यसैबिच, कात्तिक १२ गते नै जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृतसहितको टोलीले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, प्रदेश कार्यालय पोखराको स्थलगत अनुगमन तथा निरीक्षणसमेत गरेको छ ।
टोलीले सुशासन, व्यवस्थापन तथा कार्यसञ्चालनसँग सम्बन्धित विषयमा प्रचलित ऐन, नियमावली तथा निर्धारित सूचकका आधारमा अनुगमन तथा निरीक्षण गरेको जनाइएको छ ।