पोखरा । पोखरा महानगरपालिका-१७, विरौटास्थित गण्डक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सातौँ वार्षिक साधारणसभा २०८३ कात्तिक १५ गते सम्पन्न भएको छ ।
साधारणसभाले नियमित बचत, प्रभावकारी कर्जा असुली, आर्थिक अनुशासन, सदस्यहरूको हित संरक्षण र संस्थाको दिगो विकासलाई प्राथमिकतामा राख्दै सहकारीलाई थप सबल, व्यवस्थित र पारदर्शी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि तथा सहकारीका संस्थापक अध्यक्ष ध्रुवराज पनेरुले सहकारी संस्थाको वास्तविक मेरुदण्ड शेयर सदस्यहरू भएको बताउनुभयो ।
संस्थालाई बलियो, व्यवस्थित र दिगो बनाउन सबै सदस्यको सक्रिय सहभागिता आवश्यक रहेको उहाँको भनाइ थियो ।
उहाँले कर्जा लिएका सदस्यहरूलाई निर्धारित समयमै नियमित किस्ता भुक्तानी गर्न आग्रह गर्दै प्रभावकारी कर्जा असुलीले संस्थाको आर्थिक अवस्था सुदृढ बनाउनुका साथै अन्य सदस्यलाई आवश्यकताअनुसार कर्जा प्रवाह गर्न सहज हुने बताउनुभयो ।
सहकारीका अध्यक्ष दिपेन्द्र पौडेलले सदस्यहरूले नियमित बचत गर्ने, संस्थाका गतिविधि तथा नीतिबारे जानकारी राख्ने, साधारणसभामा सक्रिय सहभागिता जनाउने र संस्थाका नियमहरूको पालना गर्ने संस्कार विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
सहकारी सञ्चालक समिति र कर्मचारीको मात्र नभई सम्पूर्ण शेयर सदस्यको साझा सम्पत्ति भएकाले यसको संरक्षण, विकास र पारदर्शिता कायम राख्न सबै पक्ष जिम्मेवार हुनुपर्ने उहाँले बताउनुभयो ।
साधारणसभामा संस्थाको आर्थिक अवस्था, वार्षिक प्रगति, भावी योजना तथा सहकारीलाई थप व्यवस्थित, पारदर्शी र सदस्यकेन्द्रित बनाउने विषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा कोषाध्यक्ष मातृका सुवेदीले आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका तर्फबाट मधु पौडेलले लेखा सुपरिवेक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
त्यसैगरी, शिक्षा उपसमिति सदस्य प्रकाश अधिकारीले सहकारीका सात सिद्धान्तबारे जानकारीमूलक प्रस्तुति दिनुभएको थियो ।
विभिन्न विधामा १२ जना सम्मानित
साधारणसभाको अवसरमा संस्थाले शैक्षिक उपलब्धि, बचत तथा कर्जा कारोबार र ज्येष्ठ नागरिक सम्मानअन्तर्गत १२ जनालाई सम्मान गरेको छ ।
एसईईतर्फ सामुदायिक विद्यालयबाट छात्रा स्मृति कुँवर र छात्र अनिष ढुङ्गाना तथा निजी विद्यालयबाट छात्र सुलभ पनेरू र छात्रा परिषा अर्याल सम्मानित हुनुभएको छ । त्यस्तै, कक्षा १२ तर्फ छात्रा सझनी लामिछाने र छात्र प्रदीप पौडेल सम्मानित हुनुभएको छ ।
नियमित बचततर्फ शोभा ढुङ्गाना, अन्य बचततर्फ मुक्तिराम बराल, धितो कर्जातर्फ रीता पनेरू र विनाधितो कर्जातर्फ सावित्री आले सम्मानित हुनुभएको छ । त्यसैगरी, ज्येष्ठ नागरिक सम्मानबाट लिलाराज ढकाल र पार्वती काफ्ले सम्मानित हुनुभएको छ ।
कार्यक्रममा संस्थाका सल्लाहकार सदस्य डिल्लीराम पनेरू र निवर्तमान अध्यक्ष दिपेन्द्रराज ढकालले शुभकामना मन्तव्य व्यक्त गर्दै सहकारीको संस्थागत विकास, आर्थिक अनुशासन, पारदर्शिता र सदस्यहरूको हितलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने धारणा राख्नुभएको थियो ।
संस्थाका अध्यक्ष दिपेन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष पुरुषोत्तम पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सचिव हरिशंकर भण्डारीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।