पोखरा । नवलपुर (सुस्तापूर्व) को गैँडाकोट नगरपालिका-१०, पितौंजीस्थित श्रीसिद्धिदात्री दुर्गा मन्दिर, कोटिहोम आश्रमको १०औँ अधिवेशन तथा २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
२०८३ कात्तिक १४ गते आयोजित सभामा आश्रमको गतिविधि, उपलब्धि तथा भावी योजनाबारे छलफल गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका पूर्वस्वास्थ्यमन्त्री एवम् प्रदेशसभा सदस्य कृष्णप्रसाद पाठकले आश्रमहरू आध्यात्मिक ज्ञानका विश्वविद्यालय भएको बताउनुभयो ।
उहाँले आश्रमलाई धार्मिक आस्थाको केन्द्रका रूपमा मात्र सीमित राख्न नहुने उल्लेख गर्दै ज्ञान, संस्कार, समानता र समतामूलक शिक्षाको प्रवाह गर्ने महत्वपूर्ण स्थलका रूपमा व्याख्या गर्नुभयो ।
आश्रमहरूमा वेदका श्लोकहरू गुञ्जिने, गौमाताको पालनपोषण हुने, पशुपन्छीको संरक्षण गरिने तथा समानता र समतामूलक शिक्षाको अभ्यास हुने भएकाले यस्ता स्थान सनातन संस्कृतिका महत्वपूर्ण केन्द्र रहेको उहाँको भनाइ थियो ।
आश्रमहरूले आध्यात्मिक ज्ञान र संस्कारको संरक्षणसँगै पशुपन्छी संरक्षण तथा सामाजिक समानताको सन्देश प्रवाहमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको पनि उहाँले बताउनुभयो ।
कार्यक्रममा कार्यक्रममा विशिष्ट अतिथि गण्डकी प्रदेशसभा सदस्य बिन्दु पौडेल, गैँडाकोट नगरपालिकाकी उपप्रमुख शान्ति कोइराला तथा योगी खेचरनाथ पीठाधीश एवम् गैँडाकोट नगरपालिका-१० का वडाध्यक्ष देवीदत्त कँडेलले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
वार्षिक साधारणसभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो । सभामा आश्रमले सञ्चालन गरेका गतिविधि, हासिल गरेका उपलब्धि तथा आगामी योजनाका विषयमा समेत छलफल भएको थियो ।
आश्रमका अध्यक्ष प्रेमप्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय जनप्रतिनिधि, धार्मिक व्यक्तित्व, समाजसेवी तथा आश्रमसँग आबद्ध व्यक्तिहरूको सहभागिता रहेको थियो ।