मानव आवाज

२०८३ कात्तिक १२ गते
00: 00: 00
२०८३ कात्तिक १२ गते

सामान्य विवादले साथीको ज्यान गयो, हत्याको आरोपमा पाँच जना पक्राउ

पोखरा । माछापुच्छ्रे गाउँपालिका-७ धम्पुसमा सामान्य विवाद र आपसी इगोका कारण २२ वर्षीय ट्रेकिङ गाइड राजेन्द्र पौडेलको हत्या भएको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार २०८३ कात्तिक ८ गते राति मदिरा सेवनका क्रममा साथीहरूबीच विवाद भएको थियो । विवादका क्रममा पौडेलले साथीहरूलाई हँसियाले प्रहार गरेपछि रिसइबी बढेको र मध्यरातमा कुटपिट भएको अनुसन्धानबाट खुलेको छ ।

कुटपिटपछि घाइते पौडेललाई बारीमा लगेर छाडिएको थियो । भोलिपल्ट बिहान स्थानीयले राजेन्द्रको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनामा संलग्न भएको आरोपमा माछापुच्छ्रे गाउँपालिका-७ का ३० वर्षीय विक्रम पुन, २३ वर्षीय आशीष गुरुङ, ३० वर्षीय महादेव विक, ३० वर्षीय मिलन विक र ३८ वर्षीय लिलबहादुर पुनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीका अनुसार प्रारम्भिक अनुसन्धानमा पूर्वयोजना वा पूर्वरिसइबीभन्दा मदिरा सेवनपछि उत्पन्न विवाद र आवेगका कारण घटना भएको देखिएको छ ।

प्रहरीले घटनामा प्रयोग भएका दुई बाँसका भाटा, दाउरा, हँसिया, बियरको बोतल र पानीको बोतल बरामद गरेको छ ।

पक्राउ परेका पाँचै जनामाथि कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

(साङ्‌केतिक तस्वीर)

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार