मानव आवाज

२०८३ कात्तिक १५ गते
00: 00: 00
२०८३ कात्तिक १५ गते

चिल्ड्रेन नेपालको ३०औँ वार्षिक साधारणसभा सम्पन्न

पोखरा । बालअधिकार प्रवर्धन, सामाजिक परिवर्तन तथा दिगो विकासका क्षेत्रमा क्रियाशील सामाजिक संस्था चिल्ड्रेन नेपालको ३०औँ वार्षिक साधारणसभा २०८३ कार्तिक १४ गते पोखरामा सम्पन्न भएको छ ।

२०५२ सालमा स्थापित चिल्ड्रेन नेपालले विभिन्न जोखिममा रहेका तथा सीमान्तकृत समुदायका बालबालिका, युवा, महिला र उनीहरूका परिवारलाई लक्षित गरी सामाजिक तथा मानवीय सेवाका गतिविधि सञ्चालन गर्दै आएको छ ।

साधारणसभामा संस्थाका अध्यक्ष शान्त पौडेलले संस्थाको निरन्तर प्रगति र सफलताका लागि सामूहिक सहयोग, सहकार्य र समर्पण आवश्यक रहेको बताउनुभयो। संस्थाको लक्ष्य प्राप्तिका लागि सबैले आआफ्नो क्षेत्रबाट जिम्मेवारीपूर्वक योगदान पुर्‍याउँदै संस्थालाई थप सशक्त र प्रभावकारी बनाउनुपर्ने उहाँको भनाइ थियो ।

कार्यकारी निर्देशक डिल्लीप्रसाद शर्माले संस्थाको संक्षिप्त परिचय प्रस्तुत गर्दै संस्थाको दिगोपन र आत्मनिर्भरता अभिवृद्धिका लागि गरिएका प्रयास तथा उपलब्धिबारे जानकारी गराउनुभयो ।

उहाँले चिल्ड्रेन नेपालले बालअधिकार प्रवर्धन, शान्ति स्थापना, वातावरण संरक्षण तथा महिला सशक्तीकरणका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताउनुभयो ।

जलवायु परिवर्तनले बालबालिका, युवा तथा समुदायको जीवनमा पार्ने प्रभावलाई मध्यनजर गर्दै संस्थाले यस क्षेत्रमा पनि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उहाँले जानकारी दिनुभयो ।

विशेषगरी युवालाई लक्षित गरी जलवायु परिवर्तन, वातावरण संरक्षण तथा दिगो विकाससम्बन्धी कार्यक्रममार्फत युवा पुस्तालाई सचेत, जिम्मेवार र सक्रिय बनाउने काममा संस्थाले जोड दिँदै आएको शर्माले बताउनुभयो ।

लक्षित समुदायलाई प्रदान गरिँदै आएको सेवालाई थप प्रभावकारी बनाउँदै संस्थालाई दिगो र आत्मनिर्भर बनाउने प्रतिबद्धता व्यक्त गर्दै उहाँले संस्थाको यात्रामा साथ र सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो ।

साधारण सभाको अवसरमा संस्थाको वार्षिक प्रकाशन ‘उज्यालोको खोजी, २०८३ (अङ्क १७)’ विमोचन गरिएको थियो ।

संस्थाका अध्यक्ष शान्त पौडेल, निवर्तमान अध्यक्ष तथा संरक्षक भीमलाल गुरुङ, संस्थापक अध्यक्ष रामचन्द्र पौडेल, कार्यसमितिका पदाधिकारी तथा कार्यकारी निर्देशकले संयुक्त रूपमा प्रकाशनको विमोचन गर्नुभएको थियो ।

संस्थाका कार्यक्रम निर्देशक शिव शर्मा चापागाईंले प्रकाशनले संस्थाका गतिविधि, उपलब्धि, अनुभव तथा सिकाइलाई अभिलेखीकरण गरी सरोकारवाला र आम पाठकमाझ पुर्‍याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।

यसले आगामी दिनमा संस्थाका कामको समीक्षा गर्न तथा सिकाइ आदानप्रदान गर्नसमेत सहयोग पुग्ने उहाँको भनाइ थियो ।

सभामा संस्थामा योगदान पुर्‍याउने कर्मचारी तथा उत्पादकहरूलाई सम्मान गरिएको थियो । कार्यसम्पादन मूल्याङ्कनका आधारमा कार्यक्रम संयोजक दुमनाथ शर्मा र कार्यक्रम सुपरभाइजर सुनिता तिमिल्सिनालाई यस वर्षका उत्कृष्ट कर्मचारीका रूपमा प्रशंसापत्र, नगद पुरस्कार तथा दोसल्लासहित सम्मान गरिएको थियो ।

त्यसैगरी, स्नातक तह उत्तीर्ण गरी शैक्षिक योग्यता वृद्धि गर्न सफल होमाया कार्कीलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।

संस्थाद्वारा सञ्चालित सूर्यमुखी हस्तकला कार्यक्रममा आबद्ध उत्पादकहरूमध्ये सीता विकलाई यस वर्षको उत्कृष्ट उत्पादकका रूपमा प्रशंसापत्र, नगद पुरस्कार तथा दोसल्लासहित सम्मान गरिएको थियो ।

कर्मचारी तथा उत्पादकहरूको योगदानको कदर गर्दै उनीहरूलाई थप प्रोत्साहन गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ ।

साधारणसभामा संस्थाका महासचिव जयन्द्र भट्टराईले आर्थिक वर्ष २०८२/०८३ को प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष कुलप्रसाद पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कोषाध्यक्ष पौडेलले आर्थिक वर्ष २०८३/०८४ को प्रस्तावित कार्यक्रम तथा बजेटसमेत प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत दुवै प्रतिवेदनमाथि छलफल गरी सर्वसम्मत रूपमा पारित गरिएको कार्यक्रम संयोजक रमेश सुवेदीले जानकारी दिनुभयो ।

कार्यक्रममा निवर्तमान अध्यक्ष तथा संरक्षक भीमलाल गुरुङले संस्थाको प्रगतिका लागि सबैको सक्रिय सहभागिता र सहकार्य आवश्यक रहेको बताउँदै आगामी दिनमा थप सफलता हासिल गर्न शुभकामना व्यक्त गर्नुभयो ।

उहाँले स्थापनाकालदेखि सञ्चालन हुँदै आएका सामाजिक कार्यलाई निरन्तरता दिँदै बदलिँदो आवश्यकता र परिस्थितिअनुसार कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी, संस्थापक अध्यक्ष रामचन्द्र पौडेलले संस्थाले सामाजिक तथा आर्थिक क्षेत्रमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी र उपलब्धिमूलक कार्य गर्दै अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

साधारण सदस्यहरू सङ्गीता भण्डारी र रामचन्द्र तिमिल्सिनाले पनि संस्थाले बालबालिका, महिला तथा सीमान्तकृत समुदायको हितमा गर्दै आएका कार्यको प्रशंसा गर्दै आगामी दिनमा थप प्रगति र सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

संस्थाका अध्यक्ष शान्त पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रम उपाध्यक्ष विजयकुमार कार्कीले स्वागत मन्तव्य र सचिव कृष्णप्रसाद खरालले सञ्चालन गर्नुभएको थियो ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार