मानव आवाज

२०८३ कात्तिक ११ गते
00: 00: 00
२०८३ कात्तिक ११ गते

अन्तर्राष्ट्रिय शिक्षक तालिम सम्पन्न, ६५ भन्दा बढी शिक्षक लाभान्वित

पोखरा । बागलुङको निसीखोला गाउँपालिकामा सञ्चालित दुईवर्षे अन्तर्राष्ट्रिय शिक्षक व्यावसायिक विकास कार्यक्रमको पहिलो चरणअन्तर्गत तीनदिने तालिम सम्पन्न भएको छ ।

२०८३ कात्तिक ७ गतेदेखि सुरु भएको तालिम कात्तिक ९ गते सम्पन्न भएको हो । तालिममा गाउँपालिकाका ४८ ओटै विद्यालयका आधारभूत तहका शिक्षकहरूको प्रतिनिधित्वसहित ६५ भन्दा बढी शिक्षक तथा शिक्षिकाको सहभागिता रहेको थियो ।

कर्मफ्लाइट्स फाउन्डेसन नेपाल र थियोले फाउन्डेसनको आयोजनामा, नेदरल्यान्ड्सस्थित केपीजेड युनिभर्सिटी अफ एप्लाइड साइन्सेजको सहयोग तथा निसीखोला गाउँपालिकाको समन्वयमा तालिम सञ्चालन गरिएको हो । तालिमको मुख्य सन्देश ‘पुस्तक बन्द गरौँ, सिकाइका नयाँ ढोका खोलौँ !’ रहेको थियो ।

तालिममा शिक्षकहरूले शिक्षणका नवीन विधि, बालबालिकाको सिकाइ प्रक्रिया तथा कक्षाकोठालाई सिर्जनात्मक र बालमैत्री बनाउने उपायबारे छलफल तथा अभ्यास गरेका थिए ।

‘के पढाउने’ भन्ने प्रश्नसँगै ‘कसरी पढाउने’, बालबालिकाले कसरी सिक्छन् र उनीहरूको सिकाइलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा विशेष जोड दिइएको थियो ।

कार्यक्रमको उद्घाटन सत्रमा निसीखोला गाउँपालिकाका उपाध्यक्ष प्रेमबहादुर घर्ती मगरले बिदाको समय सदुपयोग गर्दै नयाँ ज्ञान र सीप हासिल गर्न शिक्षकहरूले देखाएको उत्साहको प्रशंसा गर्नुभयो ।

अन्तर्राष्ट्रिय शैक्षिक अनुभव स्थानीय शिक्षकहरूमाझ पुर्‍याएकोमा उहाँले आयोजक संस्था तथा नेदरल्यान्ड्सका साझेदारहरूप्रति आभार व्यक्त गर्नुभयो । साथै, तालिममा सिकेका ज्ञान र सीपलाई कक्षाकोठामा व्यवहारमा उतार्न शिक्षकहरूलाई आग्रह गर्नुभयो ।

उपाध्यक्ष घर्ती मगरले प्रविधिको प्रयोग, डिजिटल सीपको विकास र कृत्रिम बुद्धिमत्ता (एआई) को जिम्मेवार उपयोगमा जोड दिँदै प्रविधिको विकाससँगै भाषा, शब्द, अक्षर, आलोचनात्मक सोच र वास्तविक सिकाइको महत्त्व जोगाउनुपर्ने बताउनुभयो ।

तालिमका मुख्य सहजकर्ता क्रिस्टिना र बर्ट थोलेले दशैँ बिदाको समयमा समेत आफ्नो व्यावसायिक विकासका लागि समय छुट्याएकोमा सहभागी शिक्षकहरूको प्रशंसा गर्नुभयो ।

उहाँहरूले यो कार्यक्रम तीन दिनमा सीमित नभई आगामी दुई वर्षसम्म निरन्तर सिक्ने, अनुभव आदानप्रदान गर्ने र शिक्षण अभ्यासमा सुधार ल्याउने यात्राको सुरुवात भएको बताउनुभयो ।

सहजकर्ताहरूले शिक्षकहरूलाई पाठ्यपुस्तकमा मात्र सीमित नभई व्यावहारिक अभ्यास, समूह छलफल, अनुभव आदानप्रदान तथा नवीन शिक्षण विधिको प्रयोगमार्फत सिकाइलाई जीवन्त बनाउन प्रेरित गर्नुभयो ।

तालिममा बालबालिका सिक्न किन उत्साहित हुन्छन्, केही बालबालिका कक्षामा खुलेर सहभागी हुँदा केही किन हिचकिचाउँछन् र हरेक बालबालिकाले आफूलाई सक्षम, महत्त्वपूर्ण तथा सुरक्षित महसुस गर्ने वातावरण कसरी निर्माण गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको थियो ।

बालबालिकामा सिकाइप्रतिको प्रेरणा बढाउन उनीहरूलाई स्वायत्तता, आफ्नो क्षमताप्रतिको विश्वास र अरूसँग आत्मीय सम्बन्ध विकास गर्ने अवसर दिनुपर्नेमा जोड दिइएको थियो ।

शिक्षकले बालबालिकाको आवश्यकता, रुचि, क्षमता र विकासको अवस्थाअनुसार अर्थपूर्ण तथा सहभागितामूलक सिकाइ अनुभव सिर्जना गर्नुपर्ने विषयमा पनि अभ्यास गरिएको थियो ।

‘प्रभावकारी शिक्षण भनेको पाठ पढाएर सक्नु मात्र होइन, पाठभित्रका बालबालिकालाई बुझ्नु पनि हो’ भन्ने मान्यतासहित सञ्चालन गरिएको तालिममा शिक्षकहरूलाई आफ्नै कक्षाकोठाका अनुभवसँग नयाँ अवधारणा जोड्न, सहकर्मीबाट सिक्न र दैनिक शिक्षण अभ्यासमाथि पुनर्विचार गर्न प्रोत्साहित गरिएको थियो ।

बालबालिकाले आफूलाई मूल्यवान्, सक्षम र सुरक्षित महसुस गर्दा प्रश्न गर्न, नयाँ विचार खोज्न र सिकाइमा सक्रिय सहभागी हुन बढी उत्साहित हुने विषयलाई पनि महत्त्व दिइएको थियो ।

संस्थाका कार्यकारी निर्देशक प्रेमबहादुर कुँवरले तालिमलाई शिक्षकहरूको निरन्तर सिकाइ, अनुभव आदानप्रदान र कक्षाकोठामा सकारात्मक परिवर्तन ल्याउने दुईवर्षे यात्राको सुरुवातका रूपमा लिनुपर्ने बताउनुभयो ।

तालिमको अन्तिम दिन सहभागीहरूले सिकाइका अनुभवको समीक्षा गर्नुका साथै क्रियाकलापमा आधारित सिकाइ, बाह्य वातावरणमा गरिने शिक्षण अर्थात् आउटडोर एजुकेसन र आगामी सहकार्यका विषयमा छलफल गरेका थिए ।

कार्यक्रममा निसीखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन पुन मगरले शिक्षकहरूको सीप विकास र शैक्षिक गुणस्तर सुधारका लागि निरन्तर सहकार्य गरिने बताउनुभयो। उहाँले शिक्षा, स्वास्थ्य, विपद् प्रतिकार्य तथा सामुदायिक विकासका क्षेत्रमा कर्मफ्लाइट्स फाउन्डेसनले गाउँपालिकासँग गर्दै आएको सहकार्यको प्रशंसा गर्नुभयो ।

उहाँले अर्नाकोटमा सुरक्षित खानेपानीका लागि सञ्चालन गरिएको लिफ्टिङ खानेपानी आयोजना, विद्यालयहरूमा स्थापना गरिएका सूचना तथा सञ्चार प्रविधि (आईसीटी) कम्प्युटर प्रयोगशाला र ग्रामीण निसीखोलामा सामुदायिक स्वास्थ्य इकाइ निर्माणजस्ता पहलको उल्लेख गर्नुभयो ।

शिक्षाको गुणस्तर सुधारका लागि दीर्घकालीन साझेदारी आवश्यक रहेको उल्लेख गर्दै आयोजकले यस्ता तालिम विगत पाँच वर्षदेखि सञ्चालन गर्दै आएको जनाएको छ ।

एकपटक तालिम दिएर सक्नेभन्दा पनि निरन्तर सिकाइ, अनुभव आदानप्रदान र कक्षाकोठामा व्यावहारिक सुधार ल्याउने उद्देश्यले कार्यक्रम अघि बढाइएको हो ।

तालिममा सिकेका कुरा व्यवहारमा लागू भए वा नभएको मूल्याङ्कन विद्यार्थीको सहभागिता, प्रश्न गर्ने अवसर, शिक्षक–विद्यार्थीबीचको विश्वासपूर्ण सम्बन्ध र हरेक बालबालिकाले आफ्नो क्षमता विकास गर्ने अवसर पाए वा नपाएको आधारमा गर्नुपर्नेमा जोड दिइएको थियो ।

कार्यक्रमको दोस्रो चरणको तालिम सन् २०२७ अप्रिलमा आयोजना गर्ने योजना रहेको आयोजकले जनाएको छ ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार