मानव आवाज

२०८३ कात्तिक ११ गते
00: 00: 00
२०८३ कात्तिक ११ गते

निष्पक्ष अनुगमन र जिम्मेवार सञ्चारमा औषधि व्यवसायीको जोड

पोखरा । औषधि पसल तथा फार्मेसीको अनुगमनका क्रममा व्यवसायीमाथि लागेका आरोप पुष्टि नभएसम्म सार्वजनिक रूपमा दोषीका रूपमा प्रस्तुत नगर्न नेपाल औषधि व्यवसायी सङ्घ (एनसीडीए) कास्कीले सम्बन्धित निकाय तथा सञ्चारमाध्यमको ध्यानाकर्षण गराएको छ ।

एनसीडीए कास्कीका अध्यक्ष धिरज गौतमले औषधि व्यवसायीको प्रतिष्ठा, निष्पक्ष अनुगमन तथा जिम्मेवार सञ्चारसम्बन्धी विषयमा ध्यानाकर्षण गराउँदै कानुनी प्रक्रिया पूरा नगरी कुनै पनि व्यवसायीको प्रतिष्ठा र व्यावसायिक भविष्यमा असर पर्ने गरी प्रचारप्रसार गर्नु न्यायोचित नहुने बताएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, जिल्ला प्रशासन कार्यालय तथा सम्बन्धित नियामक निकायबाट औषधि पसल र फार्मेसीको अनुगमन हुनु औषधिको गुणस्तर, सुरक्षित प्रयोग, कानुनी पालना र जनस्वास्थ्य संरक्षणका दृष्टिले आवश्यक रहेको एनसीडीए कास्कीले जनाएको छ ।

कानुनबमोजिम अभिलेख राख्नुपर्ने औषधिको बिक्री तथा अन्य नियामक व्यवस्थाको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा पनि सङ्घले जोड दिएको छ ।

तर, अनुगमनका क्रममा कुनै व्यवसायीबाट कानुनी वा प्रक्रियागत त्रुटि भएको आशङ्का देखिएमा त्यसको निष्पक्ष छानबिन गरी तथ्य र प्रमाणका आधारमा मात्र निष्कर्षमा पुग्नुपर्ने सङ्घको भनाइ छ ।

छानबिन पूरा नहुँदै व्यवसायीलाई दोषीका रूपमा प्रस्तुत गर्ने, अपुष्ट सूचना सार्वजनिक गर्ने तथा सञ्चारमाध्यम वा सामाजिक सञ्जालमार्फत प्रतिष्ठामा आँच पुग्ने गरी प्रचारप्रसार गर्ने कार्यप्रति सङ्घले गम्भीर चिन्ता व्यक्त गरेको छ ।

सङ्घले आरोप लाग्दैमा कोही कसैलाई दोषी करार गर्न नहुने उल्लेख गर्दै सम्बन्धित निकायबाट सत्यतथ्य स्थापित हुनुअघि नै सार्वजनिक रूपमा दोषी ठहर गर्दा व्यवसायीको व्यक्तिगत तथा सामाजिक प्रतिष्ठामा असर पर्ने जनाएको छ ।

यस्तो कार्यले व्यवसायीको वर्षौँको मेहनत, लगानी र व्यावसायिक भविष्यसमेत जोखिममा पार्न सक्ने सङ्घको ठहर छ ।

एनसीडीए कास्कीले अनुगमनका क्रममा देखिएका त्रुटि तथा कैफियतको निष्पक्ष छानबिन गर्न, आरोप प्रमाणित नहुँदासम्म व्यवसायीको नाम, तस्बिर वा पहिचान सार्वजनिक गरी प्रतिष्ठामा असर पर्ने कार्य नगर्न र सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सूचना सम्प्रेषण गर्दा सत्यता, सन्तुलन र व्यावसायिक मर्यादा कायम राख्न सम्बन्धित पक्षसँग आग्रह गरेको छ ।

त्यसैगरी, कानुन उल्लङ्घन प्रमाणित भएको अवस्थामा प्रचलित कानुनबमोजिम कारबाही गर्नुपर्ने भए पनि सम्बन्धित व्यवसायीलाई आफ्नो पक्ष राख्ने तथा कानुनी प्रक्रियाअनुसार सफाइ पेश गर्ने उचित अवसर प्रदान गरिनुपर्ने सङ्घको माग छ ।

औषधि व्यवसाय जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको सम्वेदनशील क्षेत्र भएकाले यसमा कानुनी अनुशासन, पारदर्शिता र उत्तरदायित्व आवश्यक रहेको उल्लेख गर्दै सङ्घले निष्पक्षता, न्यायिक प्रक्रिया र व्यवसायीको सम्मानको संरक्षण पनि उत्तिकै महत्त्वपूर्ण रहेको जनाएको छ ।

“दोष प्रमाणित भएमा कानुनबमोजिम कारबाही हुनु स्वाभाविक हो, तर दोष प्रमाणित हुनुअघि नै कसैको प्रतिष्ठा र व्यवसाय समाप्त हुने अवस्था सिर्जना हुनु हुँदैन ।”-सङ्घको ध्यानाकर्षणमा उल्लेख छ ।

एनसीडीए कास्कीका अध्यक्ष गौतमले यस विषयमा सम्बन्धित सरकारी निकाय, नियामक संस्था, सञ्चारमाध्यम तथा सबै सरोकारवाला पक्षलाई जिम्मेवार, संवेदनशील र संयमित बन्न आग्रह गर्दै औषधि व्यवसायीको व्यावसायिक मर्यादा, प्रतिष्ठा र न्यायोचित व्यवहारको संरक्षण हुनुपर्नेमा जोड दिनुभएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले फार्मेसीमा औषधि बिक्री गरेको विषयमा फर्मासिस्ट अमिसा ढुङ्गानालाई पक्राउ गरेपछि नेपाल औषधि व्यवसायी सङ्घले घटनाको निष्पक्ष अनुसन्धान गर्न माग गरेको छ ।

नेपाल औषधि व्यवसायी सङ्घ गण्डकीका संस्थापक अध्यक्ष कृष्णप्रसाद पाण्डेले दोषी प्रमाणित नहुँदै व्यक्तिलाई पक्राउ गरी प्रतिष्ठामा आँच पुर्‍याउने प्रवृत्तिमाथि प्रश्न उठाउँदै ‘पहिला थुन्ने अनि सुन्ने’ कानुनी अभ्यास परिमार्जन हुनुपर्ने बताउनुभएको छ ।

औषधि व्यवसायीहरूले औषधिको कानुनी वर्गीकरण, बिक्रीसम्बन्धी कागजात र प्राविधिक पक्षको निष्पक्ष मूल्याङ्कन गरी आवश्यक परे सम्बन्धित निकायको राय लिएर अनुसन्धान अघि बढाउन आग्रह गरेका छन् ।

उनीहरूले पक्राउ परेकी फर्मासिस्टमाथि लागेको आरोपको निष्पक्ष छानबिन गरी घटनाको वास्तविकता सार्वजनिक गर्न माग गरेका छन् ।

नेपाल औषधि व्यवसायी सङ्घ गण्डकीका अध्यक्ष केशरीप्रसाद तिवारीले औषधि पसल तथा फार्मेसीको अनुगमनका क्रममा व्यवसायीमाथि धरपकड नगर्न ध्यानाकर्षण गराउनुभएको छ ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार