पोखरा । पोखरा महानगरपालिका-६, लेकसाइडमा सडकको खाडल छोप्न राखिएको ढुङ्गामा टेक्ने क्रममा लडेर एक महिला घाइते भएकी छन् ।
भैरहवाबाट पोखरा घुम्न आएकी ती महिला काखमा सानो बच्चा बोकेर हिँड्ने क्रममा लडेकी हुन् । सडकको खाडल छोप्न राखिएको ढुङ्गामा टेक्दा लडेर बेहोस भएकी महिलालाई स्थानीय बासिन्दाले तत्काल उद्धार गरेका थिए ।
महिला लडेर बेहोस भएपछि उनको काखमा रहेको बच्चा जोडले रुन थालेको थियो। त्यसपछि घटनास्थलमा रहेका स्थानीय बासिन्दा उद्धारमा जुटेका थिए । उनीहरूले महिला र बच्चालाई सुरक्षित बनाएका थिए । उद्धारपछि महिलालाई उनका आफन्तको जिम्मा लगाइएको थियो ।
पोखराको व्यस्त पर्यटकीय क्षेत्र लेकसाइडमा भएको यस घटनाले सडकका खाल्डाखुल्डी र तिनलाई छोप्न प्रयोग गरिएका असुरक्षित संरचनाले पैदलयात्रीलाई जोखिममा पारेको देखाएको छ ।
नालीको भेलले बगाउँदा घाइते आमा-छोरीको उपचारका क्रममा मृत्यु
विशेषगरी काखमा बच्चा बोकेर हिँड्ने महिला, ज्येष्ठ नागरिक तथा पर्यटक यस्ता असुरक्षित सडक संरचनाका कारण दुर्घटनामा पर्न सक्ने जोखिम बढी हुन्छ ।
पर्यटकीय सहर पोखराको मुख्य पर्यटकीय क्षेत्रमा पैदलयात्रीको सुरक्षालाई ध्यान दिँदै सडकका खाल्डाखुल्डी व्यवस्थित रूपमा मर्मत गर्न तथा जोखिमपूर्ण स्थानको पहिचान गरी तत्काल सुरक्षित बनाउन आवश्यक देखिएको छ ।