पोखरा । नेपाल पूर्व प्रहरी सङ्गठन कास्कीको आयोजनामा विजयादशमी, दीपावली, नेपाल सम्वत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम २०८३ कात्तिक ९ गते सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रहरी उपरीक्षक गङ्गाबहादुर थापाले चाडपर्वले समाजमा सुख, शान्ति, समृद्धि र आपसी मेलमिलापको वातावरण सिर्जना गर्ने बताउनुभयो ।
उहाँले पूर्व प्रहरी सङ्गठनले सामाजिक क्षेत्रमा समेत सक्रिय भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिँदै सम्पूर्ण पूर्व प्रहरी परिवार तथा उपस्थित सबैमा चाडपर्वको शुभकामना व्यक्त गर्नुभयो ।
उहाँले चाडपर्वले आपसी सद्भाव, भाइचारा, एकता र आत्मीयता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेपाल पूर्व प्रहरी सङ्गठन छोरेपाटन इकाइका अध्यक्ष तिलबहादुर आचार्यले पूर्व प्रहरीहरूबिचको सम्बन्धलाई निरन्तर सुदृढ बनाउँदै सामाजिक सद्भाव, एकता र सहकार्यलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेपाल पूर्व प्रहरी सङ्गठन लामाचौर इकाइका अध्यक्ष मिनप्रसाद श्रेष्ठले पूर्व प्रहरीहरूबीचको आत्मीयता, आपसी सहयोग र एकतालाई अझ प्रगाढ बनाउन यस्ता कार्यक्रमले महत्त्वपूर्ण योगदान पुर्याउने बताउनुभयो । उहाँले चाडपर्वलाई हर्षोल्लास र सद्भावपूर्ण वातावरणमा मनाउनुपर्नेमा जोड दिनुभयो ।
सङ्गठनका सल्लाहकार तथा पूर्व प्रहरी नायब उपरीक्षक पदमप्रसाद सुवेदीले नेपाली मौलिक संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्धन गर्नुपर्ने बताउनुभयो ।
उहाँले पूर्व प्रहरीहरूबिचको एकता, आपसी सहयोग र सद्भावलाई सुदृढ बनाउन यस्ता कार्यक्रम उपयोगी हुने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा निवर्तमान अध्यक्ष धर्मदत्त शर्माले शुभकामना व्यक्त गर्दै आपसी सद्भाव र भाइचारालाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।
संस्थाका अध्यक्ष बलबहादुर थापाले संस्थाले पूर्व प्रहरीहरूको हकहितको संरक्षण, एकता, आपसी सहयोग र सामाजिक सद्भाव कायम राख्न निरन्तर प्रयास गर्दै आएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि संस्थाका गतिविधिलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अध्यक्ष थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष शिवबहादुर थापाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सचिव बबिता मल्लले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रममा सङ्गठनका सल्लाहकार, पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो । सहभागीहरूले एकआपसमा शुभकामना आदानप्रदान गर्दै पूर्व प्रहरीहरूबिचको सम्बन्ध, आत्मीयता, एकता र भाइचारालाई थप मजबुत बनाउन यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए ।