पोखरा । नेपाली मौलिक संस्कृति र परम्परालाई विदेशी पर्यटकमाझ चिनाउने उद्देश्यले पोखराको फेवाताल किनारमा आयोजित दशैँ पर्यटन तथा सांस्कृतिक महोत्सवमा विदेशी पर्यटकले रातो टीका र पहेँलो जमरा लगाएर दशैँको अनुभव लिएका छन् ।
‘टीका, जमरा र चङ्गा चेट: पोखरामा पर्यटकसँग दशैँ भेट’ भन्ने मूल नाराका साथ महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)को आयोजना तथा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवर्द्धनमा कोजाग्रत पूर्णिमाका दिन २०८३ कात्तिक ८ गते पोखरा महानगरपालिका-६, लेकसाइडस्थित बाराहीघाट मैदानमा महोत्सव सम्पन्न भएको हो ।
बडादशैँको अन्तिम दिन कोजाग्रत पूर्णिमामा आयोजित महोत्सवमा विदेशी पर्यटकले निधारमा रातो टीका र कानमा पहेँलो जमरा सिउरेर नेपाली चाडपर्वको अनुभव लिएका थिए । टीका र जमरासँगै पर्यटकको अनुहारमा खुसी र उत्साह देखिन्थ्यो ।
महोत्सवका प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सहभागी पर्यटकलाई टीका र जमरा लगाइदिनुभएको थियो ।

उहाँले पर्यटन भनेको हिमाल, ताल र प्राकृतिक सुन्दरतामा मात्र सीमित नहुने बताउँदै पर्यटकलाई नेपाली संस्कृति र परम्पराबारे जानकारी गराउन सके पर्यटन क्षेत्रको थप विकासमा सहयोग पुग्ने धारणा राख्नुभयो ।
महिला पर्यटन व्यवसायी मञ्चकी अध्यक्ष ममता न्यौपानेले नेपाल भ्रमणमा आएका विदेशी पर्यटकलाई नेपाली संस्कृति, परम्परा र चाडपर्वसँग प्रत्यक्ष जोड्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताउनुभयो ।
ओटेफकी संस्थापक अध्यक्ष जमुना पराजुलीले स्वदेशी तथा विदेशी पर्यटकलाई नेपाली परम्पराअनुसार टीका र जमरा लगाइदिने कार्यक्रम महोत्सवको मुख्य आकर्षण रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका सदस्य सन्तोष पोखरेल, पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेललगायतले दशैँ धार्मिक पर्व मात्र नभई पारिवारिक मिलन, आपसी सद्भाव, आशीर्वाद र खुसी साटासाट गर्ने अवसरसमेत भएको बताउनुभयो ।
महोत्सवमा चङ्गा चेट प्रतियोगिता, चमरेली पिङ, रोटे पिङ तथा घुमाउने पिङका साथै विभिन्न जातजाति र समुदायका मौलिक सांस्कृतिक प्रस्तुति राखिएका थिए। नेपाली मौलिक खानपान र खाद्य संस्कृतिको प्रदर्शनसमेत गरिएको थियो ।
त्यसैगरी, परम्परागत सामग्री, स्थानीय उत्पादन तथा पर्यटनसम्बद्ध व्यवसायका स्टल राखिएका थिए । महोत्सवले स्थानीय उत्पादनको प्रवर्धन गर्नुका साथै नेपाली संस्कृति र परम्परालाई पर्यटकमाझ परिचित गराउन सहयोग पुर्याएको आयोजकको अपेक्षा छ ।
महोत्सवको पूर्वसन्ध्यामा खहरेचोकदेखि बाराहीघाटसम्म झाँकीसहित र्याली निकालिएको थियो । र्यालीमा पञ्चेबाजा, पर्यटनसम्बद्ध विभिन्न सङ्घसंस्था, आमा समूह, स्थानीय समुदाय, सांस्कृतिक समूह तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो ।
