मानव आवाज

२०८३ कात्तिक ११ गते
00: 00: 00
२०८३ कात्तिक ११ गते

पोखरा महानगरद्वारा ६ विधामा सीप विकास तालिमका लागि आवेदन आह्वान

पोखरा । पोखरा महानगरपालिकाले विभिन्न ६ विधामा निःशुल्क सीप विकास तालिम सञ्चालन गर्ने भएको छ ।

महानगरपालिकाको आर्थिक विकास महाशाखाअन्तर्गत व्यवसाय प्रवर्धन केन्द्र, कास्कीले चालु आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत कार्यक्रमअनुसार तालिम सञ्चालन गर्न लागेको हो ।

केन्द्रले २०८३ कात्तिक ९ गते जारी गरेको सूचनाअनुसार तालिम लिन इच्छुक र तोकिएको योग्यता पुगेका नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिन सक्नेछन् । आवेदन कात्तिक ३० गते कार्यालय समयभित्र केन्द्रको कार्यालयमा पेस गर्नुपर्नेछ ।

केन्द्रले वेटर/वेट्रेस, केयर गिभर, कुक, बरिस्टा, सहायक ब्युटिसियन र बाल विकास सहजकर्ता विषयमा तालिम सञ्चालन गर्न लागेको हो । प्रत्येक विधामा २० जनाका दरले प्रशिक्षार्थी सहभागी गराइने सूचनामा उल्लेख छ ।

तालिममध्ये वेटर/वेट्रेस, केयर गिभर, कुक र बाल विकास सहजकर्ता तालिमको अवधि ३९० घण्टा तोकिएको छ। सहायक ब्युटिसियन तालिम ३६० घण्टा र बरिस्टा तालिम १६० घण्टाको हुनेछ ।

वेटर/वेट्रेस तालिमका लागि न्यूनतम कक्षा ८ उत्तीर्ण गरेको हुनुपर्नेछ । केयर गिभर, कुक, बरिस्टा र सहायक ब्युटिसियन तालिममा सहभागी हुन एसएलसी वा एसईई उत्तीर्ण गरेको हुनुपर्नेछ भने बाल विकास सहजकर्ता तालिमका लागि १२ कक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ ।

सबै तालिममा सहभागी हुन आवेदकको उमेर १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ । प्रशिक्षार्थीको छनोट अन्तर्वार्तामार्फत गरिने केन्द्रले जनाएको छ ।

वेटर/वेट्रेस, केयर गिभर र कुक तालिमका लागि २०८३ मङ्सिर ३ गते तथा बरिस्टा, सहायक ब्युटिसियन र बाल विकास सहजकर्ता तालिमका लागि २०८३ मङ्सिर ४ गते अन्तर्वार्ता तोकिएको छ । दुवै दिन बिहान साढे १० बजे पोखरा सभागृहस्थित व्यवसाय प्रवर्धन केन्द्रमा अन्तर्वार्ता सञ्चालन हुनेछ ।

आवेदनका साथ सम्बन्धित वडाको सिफारिस, नेपाली नागरिकताको प्रमाणपत्रको एक प्रति प्रतिलिपि, पासपोर्ट साइजको फोटो एक प्रति र शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि पेस गर्नुपर्नेछ ।

इच्छुकले केन्द्रको कार्यालयमा उपस्थित भएर वा व्यवसाय प्रवर्धन केन्द्रको आधिकारिक वेबसाइट मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

तालिमसम्बन्धी थप जानकारीका लागि व्यवसाय प्रवर्धन केन्द्रमा सम्पर्क गर्न वा सूचना अधिकारीको मोबाइल नम्बर ९८५६०७००३७ मा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार