मानव आवाज

२०८३ कात्तिक ११ गते
00: 00: 00
२०८३ कात्तिक ११ गते

पोखरा पर्यटन परिषद्‌द्वारा १० बुँदे माग, सभामुखलाई ज्ञापनपत्र !

पोखरा । पोखरा पर्यटन परिषद्ले पर्यटन क्षेत्रको विकास, पर्यटकीय पूर्वाधार निर्माण तथा व्यवसायीका समस्या समाधानका लागि सरकारसँग १० बुँदे माग अघि सारेको छ ।

परिषद्ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान विस्तारदेखि पदमार्ग संरक्षण, कर प्रणालीमा सुधार र धार्मिक पर्यटन प्रवर्धनसम्मका विषयमा सरकारको ध्यानाकर्षण गराएको हो ।

२०८३ कात्तिक ९ गते पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलको नेतृत्वमा परिषद्मा आबद्ध विभिन्न संस्थाका अध्यक्षहरूको टोलीले प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल (डीपी) सँग भेटघाट गरी पर्यटन क्षेत्रका समसामयिक समस्या र समाधानका उपायबारे छलफल गरेको थियो ।

भेटका क्रममा सभामुख अर्यालले पर्यटन व्यवसायीका जायज माग सम्बोधन गर्न राज्य तथा सरकारलाई खबरदारी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पर्यटन क्षेत्रको विकासमार्फत मुलुकको समृद्धि हासिल गर्ने विषयमा सरकार र संसद् सक्रिय रहेको उल्लेख गर्दै उहाँले राजनीतिक नेतृत्वलाई सकारात्मक काम गर्न प्रेरित गर्न तथा आवश्यक विषयमा खबरदारी गरिरहन पर्यटन व्यवसायी र पत्रकारहरूलाई आग्रह गर्नुभयो ।

सो अवसरमा परिषद्का अध्यक्ष हरि भुजेलले सभामुख अर्याललाई ज्ञापनपत्र बुझाउँदै पर्यटन क्षेत्रका समस्या समाधान गर्न आवश्यक नीतिगत तथा कानुनी व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

परिषद्ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन तथा विस्तार गर्न विशेष पहल गर्न माग गरेको छ। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगममार्फत समेत पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्नुपर्ने परिषद्को माग छ ।

त्यसैगरी, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी विदेश जाने नेपाली नागरिकका लागि श्रम स्वीकृति र भिसा प्रक्रियालगायतका सेवा पोखराबाटै उपलब्ध गराउन तथा पोखराबाट देशका विभिन्न गन्तव्यमा सिधा हवाई उडान विस्तार गर्न आवश्यक पहल गर्न परिषद्ले आग्रह गरेको छ ।

परिषद्ले वातावरण संरक्षण ऐन, २०७६ र नियमावली, २०७७ का प्रावधानका कारण पहिलेबाट सञ्चालनमा रहेका होटलहरूको नवीकरणमा देखिएका समस्या समाधान गर्न पनि माग गरेको छ ।

लेकसाइड क्षेत्रका होटल तथा व्यावसायिक भवनको सम्पन्नता प्रमाणपत्र र अभिलेखीकरणका क्रममा लाग्ने करमा सहुलियत दिनुपर्ने परिषद्को भनाइ छ ।

गण्डकी प्रदेशको मुस्ताङस्थित कोरोला नाकालाई प्रभावकारी रूपमा सञ्चालनमा ल्याई कैलाश मानसरोवर तथा मुक्तिनाथ-दामोदरकुण्ड क्षेत्रको धार्मिक पर्यटन प्रवर्धन गर्नुपर्ने माग पनि परिषद्ले अघि सारेको छ ।

यसका साथै कालीगण्डकी करिडोरअन्तर्गत निर्माणाधीन सडक यथाशीघ्र सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।

बढ्दो सडक विस्तार र समयमै मर्मतसम्भार हुन नसक्दा गण्डकी प्रदेशका पुराना पदमार्गहरू हराउँदै गएको उल्लेख गर्दै परिषद्ले तिनको संरक्षण, मर्मतसम्भार तथा नयाँ पदयात्रा गन्तव्यको खोजी र विकास गर्न माग गरेको छ ।

नेपाल आउने विदेशी पर्यटकको पदयात्राप्रतिको आकर्षण कायम राख्न पदमार्गको संरक्षण र पूर्वाधार विकास आवश्यक रहेको परिषद्को धारणा छ ।

पोखरा महानगरपालिका-६ लेकसाइडस्थित नेपाल ट्रस्टको संरक्षणमा रहेको रत्नमन्दिरलाई सङ्ग्रहालयका रूपमा विकास गरी आन्तरिक तथा बाह्य पर्यटकका लागि खुला गर्न पनि परिषद्ले आग्रह गरेको छ ।

त्यस्तै, फेवातालको संरक्षण र ताल वरिपरि पदमार्ग निर्माणका लागि आवश्यक पूर्वाधार विकास गर्नुपर्ने माग राखिएको छ ।

व्यवसायीले तिर्नुपर्ने कर तथा राजस्व एकद्वार प्रणालीमार्फत सङ्कलन गर्ने व्यवस्था मिलाउनुपर्ने परिषद्को अर्को माग छ ।

यसबाट व्यवसायीलाई कर तिर्न सहज हुनुका साथै कर प्रशासनलाई व्यवस्थित बनाउन सहयोग पुग्ने परिषद्को अपेक्षा छ ।

परिषद्ले पर्यटन क्षेत्रको दिगो विकास र आर्थिक उन्नतिका लागि तीनै तहका सरकार, पर्यटनसम्बद्ध सङ्घसंस्था तथा अन्य सरोकारवालाबिच समन्वय र सहकार्य आवश्यक रहेको जनाएको छ ।

तत्कालीन समस्या समाधानसँगै दीर्घकालीन पर्यटन विकासका योजना कार्यान्वयन गर्न पनि परिषद्ले सरकारसँग आग्रह गरेको छ ।

पर्यटन क्षेत्रका समस्या समाधान, पूर्वाधार विकास, हवाई सम्पर्क विस्तार तथा व्यवसायमैत्री नीतिगत व्यवस्था कार्यान्वयन हुन सके पोखरासहित समग्र गण्डकी प्रदेशको पर्यटन प्रवर्धनमा सहयोग पुग्ने परिषद्को अपेक्षा छ ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार