मानव आवाज

२०८३ कात्तिक ४ गते
00: 00: 00
२०८३ कात्तिक ४ गते

असोजमा भएका सवारी दुर्घटनामा कास्कीमा ११ जनाको मृत्यु

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका प्रहरी कार्यालयबाट २०८३ साल असोज महिनामा सम्पादन गरिएका कार्य तथा गतिविधिबारे जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले जानकारी गराउनुभयो ।

प्रहरीका अनुसार असोज महिनामा जिल्लामा ५९ ओटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने १ सय १ जना घाइते भएका छन् ।

सवारी नियम उल्लङ्घन गर्नेहरूलाई कारबाही गर्दा प्रहरीले ४ हजार ७ सय ८५ पटक कारबाही गरेको छ । यसबाट ३९ लाख १८ हजार ५ सय रुपियाँ राजस्व सङ्कलन भएको छ ।

प्रहरीले नियमित परिचालनअन्तर्गत पिकेट, चेकिङ, मोबाइल गस्ती, मोटरसाइकल गस्ती, ग्रामीण गस्ती, एलआरपी, एसआरपी, एमआरपी तथा पैदल गस्ती सञ्चालन गरेको थियो ।

विशेष परिस्थितिमा प्रहरी परिचालनतर्फ विभिन्न राजनीतिक कार्यक्रम तथा अधिवेशनका दुई ओटा कार्यक्रममा १ सय २५ जना प्रहरी परिचालन गरिएको थियो ।

विपद् व्यवस्थापनतर्फ असोज महिनामा पाँच ओटा आगलागीका घटनामा २७ जना प्रहरी परिचालन भएका थिए ।

आगलागीबाट अनुमानित ३ करोड १५ लाख ३५ हजार रुपियाँ बराबरको क्षति भएको विवरणमा उल्लेख छ । यस्तै, २८ ओटा अविरल वर्षाका घटनामा १२ जना प्रहरी परिचालन भएका थिए । ती घटनामा चार घरमा आंशिक क्षति पुगेको थियो ।

यसैगरी, दुई ओटा सुख्खा पहिरोका घटनामा १७ जना प्रहरी परिचालन भएका थिए । ती घटनामा दुई जना पुरुषको मृत्यु भएको विवरणमा उल्लेख छ । दुई ओटा चट्याङका घटनामा चार जना प्रहरी परिचालन भएका थिए भने तीन ओटा चौपाया मरेका थिए ।

प्राकृतिक सम्पदा दोहन नियन्त्रणतर्फ सात ओटा सवारीसाधन नियन्त्रणमा लिएर कारबाहीका लागि स्थानीय तहमा पठाइएको र १ लाख २४ हजार रुपि याँ राजस्व कारबाही भएको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले असोज महिनामा गरेका यी गतिविधिबारे प्रहरी उपरीक्षक नवीन कार्कीले जानकारी गराउनुभएको हो ।

Author

समाचार साझा गर्नुहोस्

सम्बन्धित समाचार