मानव आवाज

२०८३ बैशाख ३० गते
00: 00: 00
२०८३ बैशाख ३० गते

स्थानीय शिक्षा योजना परिमार्जनबारे दुधौलीमा कार्यशाला सम्पन्न

सिन्धुली । दुधौली नगरपालिकामा स्थानीय शिक्षा योजना परिमार्जन सम्बन्धी एकदिने कार्यशाला तथा सरोकारवालासँगको छलफल सम्पन्न भएको छ ।

प्लान इन्टरनेसनल नेपाल र ह्याण्ड्स नेपाल को साझेदारी तथा दुधौली नगरपालिका को आयोजनामा वैशाख २७ गते कार्यक्रम सम्पन्न भएको हो ।

स्थानीय शिक्षा योजनालाई समयानुकूल, समावेशी, बालमैत्री तथा व्यवहारिक बनाउने उद्देश्यले आयोजित कार्यक्रममा शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न सरोकारवालाबिच व्यापक छलफल गरिएको थियो ।

कार्यक्रममा दुधौली नगरपालिकाका कार्यवाहक नगर प्रमुख चन्द्रकिशोर थारु ले स्थानीय शिक्षा योजना नगरको शैक्षिक विकासको महत्त्वपूर्ण दस्ताबेज भएकाले सरोकारवालाहरूका सुझाव समेटेर व्यवहारिक र परिणाममुखी योजना निर्माण गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमका सहजकर्ता योगेन्द्र चौलागाईंले स्थानीय शिक्षा योजना निर्माण प्रक्रिया, यसको आवश्यकता, कानुनी आधार तथा कार्यढाँचाबारे प्रस्तुतीकरण गर्नुभएको थियो ।

उहाँले नेपालको संविधान २०७२ ले सुनिश्चित गरेको शिक्षा सम्बन्धी मौलिक हक, स्थानीय सरकार सञ्चालन ऐन २०७४, अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५, विद्यालय शिक्षा क्षेत्र योजना तथा दिगो विकास लक्ष्यलाई आधार मानेर स्थानीय शिक्षा योजना निर्माण तथा परिमार्जन गरिनुपर्ने धारणा राख्नुभयो ।

छलफलका क्रममा सहभागीहरूले गुणस्तरीय शिक्षा, समावेशी तथा बालमैत्री सिकाइ वातावरण, विद्यालयमा सूचना प्रविधिको प्रयोग, विपद् जोखिम न्यूनीकरण, किशोरी तथा बालबालिकाको सहभागिता, विद्यालय छाड्ने दर न्यूनीकरण, शिक्षक क्षमता विकास, सुरक्षित विद्यालय अवधारणा, लैङ्गिक समानता तथा समुदायको सहभागिता जस्ता विषय शिक्षा योजनामा समावेश गर्नुपर्ने सुझाव दिएका थिए ।

कार्यक्रममा स्थानीय आवश्यकता र समुदायको अपेक्षाअनुसार शिक्षा योजनालाई परिमार्जन गर्दै आगामी कार्यान्वयन प्रक्रियालाई प्रभावकारी बनाउने विषयमा समेत सहमति गरिएको थियो ।

सहभागीहरूले स्थानीय सरकार, विद्यालय र समुदायबीचको समन्वय र सहकार्यलाई थप सुदृढ गर्दै शिक्षा क्षेत्रको समग्र विकासमा जोड दिनुपर्ने धारणा व्यक्त गरेका थिए ।

Author

Share the News

Recent News

Related News