मानव आवाज

२०८३ असोज २६ गते
00: 00: 00
२०८३ असोज २६ गते

सिन्धुलीमा म्याद गुज्रिएका खाद्य सामग्री नष्ट, चार व्यवसायीलाई जरिबाना

सिन्धुली । दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी सिन्धुलीमा गरिएको बजार अनुगमनका क्रममा म्याद गुज्रिएका २१ हजार २ सय ४० रुपियाँ बराबरका खाद्य सामग्री नष्ट गरिएको छ ।

अनुगमनका क्रममा कैफियत भेटिएका चार व्यवसायीलाई कुल २३ हजार रुपियाँ जरिबानासमेत गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुली, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, सुनकोशी गाउँपालिका तथा उद्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालय सिन्धुलीलगायतका निकायको संयुक्त टोलीले बीपी राजमार्ग क्षेत्रका होटल, रेस्टुरेन्ट, खाना तथा खाजा घर र खाद्य सामग्री बिक्री गर्ने पसलमा अनुगमन गरेको हो ।

अनुगमनका क्रममा बिक्री तथा वितरणका लागि राखिएका म्याद गुज्रिएका खाद्य सामग्री फेला परेपछि नष्ट गरिएको टोलीले जनाएको छ ।

कारबाहीमा परेका व्यवसायीमा बालमिकेश्वर सप्लायर्स, सुनकोशी गाउँपालिका-६ स्थित सीता खाद्य स्टोर्स र सुनकोशी गाउँपालिका-४ स्थित सुदिक्षा किराना पसललगायत छन् ।

त्यसैगरी, गोलन्जोर गाउँपालिका-७ स्थित होटल त्रियुगाले पटक–पटक दिइएको निर्देशन पालना नगरेको, म्याद गुज्रिएका खाद्य वस्तु बिक्री तथा वितरण गरेको र सरसफाइमा पर्याप्त ध्यान नदिएको पाइएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीका प्रमुख तथा अनुगमन समितिका सदस्य दिनेश सुवेदीका अनुसार उक्त होटलमाथि थप अनुसन्धान गरी आवश्यक कारबाही अघि बढाउने प्रक्रिया सुरु गरिएको छ ।

अनुगमन टोलीले खाद्य पदार्थको स्वच्छता र गुणस्तर कायम गर्न, म्याद गुज्रिएका सामग्री बिक्री नगर्न तथा व्यवसाय सञ्चालनस्थलमा उचित सरसफाइको व्यवस्था गर्न व्यवसायीलाई निर्देशन दिएको छ । साथै, खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी मापदण्ड अनिवार्य रूपमा पालना गर्न सचेत गराइएको छ ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार