सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका-६ स्थित माढी बजारमा निर्माण गरिएको सिटी हल २०८३ असोज २५ गतेदेखि सञ्चालनमा आएको छ ।
कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले रिबन काटेर उद्घाटन गरेसँगै सिटी हल औपचारिक रूपमा सञ्चालनमा आएको हो ।
नगर विकास कोष र कमलामाई नगरपालिकाको लागत साझेदारीमा निर्माण गरिएको सिटी हल लामो समयसम्म सञ्चालनमा आउन सकेको थिएन ।
२०७८ सालदेखि निर्माण सुरु गरिएको भवन २०८२ सालमा सम्पन्न भए पनि सञ्चालन तथा व्यवस्थापनका लागि भाडामा लगाउने प्रक्रिया लम्बिँदा सञ्चालनमा ढिलाइ भएको थियो ।
निर्माण सम्पन्न भएपछि नगरपालिकाले सिटी हल भाडामा सञ्चालन गर्न पटक-पटक प्रस्ताव आह्वान गरे पनि उपयुक्त प्रस्ताव नपरेपछि सञ्चालनमा ढिलाइ भएको हो ।
नगरपालिकाले सुरुमा मासिक सात लाख रुपैयाँभन्दा बढी न्यूनतम भाडादर कायम गरी ठेक्का आह्वान गरेको थियो । तर, उक्त दरमा प्रस्ताव नपरेपछि पाँचौँ पटकसम्म सूचना प्रकाशन गरेर भाडामा लगाउने प्रयास गरिएको थियो ।
पाँचौँ पटकको प्रस्ताव आह्वानपछि नगरपालिकाले ए.के. युनिभर्सल प्रा.लि.सँग सम्झौता गरेको थियो । सम्झौताअनुसार कम्पनीले सिटी हल भाडामा लिएबापत नगरपालिकालाई मासिक चार लाख ५० हजार रुपlयाँ बुझाउनुपर्नेछ । सिटी हल भाडामा सञ्चालन गर्ने सम्झौताको अवधि १० वर्ष रहेको छ ।
उद्घाटन कार्यक्रममा मन्तव्य राख्दै नगरप्रमुख पोखरेलले निर्माण सम्पन्न भएको लामो समयपछि आवश्यक मापदण्ड पूरा गरी सिटी हल सञ्चालनमा ल्याउन सफल भएको बताउनुभयो ।
उहाँले मुलुकमा लगानीमैत्री वातावरणको अभाव तथा सरकार परिवर्तनपछि व्यवसायीमा देखिएको त्रासका कारण भाडामा लगाउने प्रक्रिया अपेक्षाभन्दा लामो भएको उल्लेख गर्नुभयो ।
निर्माण सम्पन्न भएको करिब एक वर्षपछि आवश्यक प्रक्रिया पूरा गरेर सिटी हल सञ्चालनमा ल्याइएको उहाँको भनाइ थियो ।
चारतले सिटी हलको तीन तलामा सपिङ कम्प्लेक्स र एक तलामा सेमिनार हल रहेको छ । आधुनिक सुविधासहित निर्माण गरिएको भवनमा लिफ्टसमेत जडान गरिएको नगरप्रमुख पोखरेलले जानकारी दिनुभयो ।
ए.के. युनिभर्सल प्रा.लि.का सञ्चालक आकाश श्रेष्ठका अनुसार सिटी हलका २० ओटा सटरमा व्यवसाय सञ्चालन गर्न सम्झौता भइसकेको छ । बाँकी सटर पनि केही समयभित्र भाडामा लगाइसक्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।
सिटी हलमा महङ्गा सामान मात्रै पाइन्छन् भन्ने धारणा गलत रहेको उल्लेख गर्दै श्रेष्ठले सर्वसाधारणले सहज रूपमा खरिद गर्न सक्ने सुलभ मूल्यका सामान उपलब्ध गराइने जानकारी दिनुभयो । उहाँले व्यवसाय सञ्चालन गर्न इच्छुक व्यवसायीलाई सटर बुकिङ गर्नसमेत आग्रह गर्नुभयो ।
सिटी हलमा ग्रोसरी, कस्मेटिक, इलेक्ट्रिक, फेन्सी आइटम, सैलुनलगायत विभिन्न प्रकारका सामान तथा सेवा एकै ठाउँमा उपलब्ध गराउने तयारी गरिएको छ ।
सर्वसाधारणका दैनिक आवश्यकताका सामग्री एउटै स्थानमा उपलब्ध गराउने उद्देश्यले सिटी हललाई ‘अल इन वान’का रूपमा ब्रान्डिङ गर्ने योजना रहेको सञ्चालक श्रेष्ठले बताउनुभयो ।
सिटी हल निर्माणका लागि नगर विकास कोषले ७० प्रतिशत रकम ऋण सहयोग उपलब्ध गराएको थियो भने कमलामाई नगरपालिकाले ३० प्रतिशत लगानी गरेको थियो ।
उद्घाटन कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सङ्घसंस्थामा आबद्ध पदाधिकारी, नागरिक समाजका अगुवा, बुद्धिजीवी, पत्रकारलगायतको उपस्थिति रहेको थियो ।