मानव आवाज

२०८३ असोज २५ गते
00: 00: 00
२०८३ असोज २५ गते

सिन्धुलीमा आयुर्वेद कार्यक्रमको वार्षिक समीक्षा, आगामी वर्षको योजना तर्जुमा

सिन्धुली । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सिन्धुलीको आयोजनामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालित आयुर्वेद कार्यक्रमहरूको जिल्लास्तरीय वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ ।

२०८३ असोज २३ गते सिन्धुलीमा सम्पन्न गोष्ठीमा चालु सेवाको समीक्षा गर्दै आगामी वर्षका कार्यक्रमलाई प्रभावकारी बनाउने विषयमा छलफल गरिएको छ ।

आयुर्वेद सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर खत्रीको अध्यक्षतामा सम्पन्न गोष्ठीमा जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कर्साङ लामाले विगतमा भएका सहमतिअनुसार कार्यक्रमको समीक्षा हुनु महत्त्वपूर्ण उपलब्धि भएको बताउनुभयो ।

उहाँले चिकित्सालयबाट वार्षिक रूपमा सञ्चालन हुँदै आएका कार्यक्रमको प्रगति विवरणले आगामी वर्षका योजना निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

वार्षिक प्रगति मूल्याङ्कनका आधारमा कार्यालयले सञ्चालन गर्न सक्ने कार्यक्रम छनोट गरी पारदर्शी ढङ्गले योजना तर्जुमा गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । साथै, सेवाग्राहीले सहज रूपमा सेवा पाउने गरी कार्यक्रम सञ्चालन गर्नुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ र स्वास्थ्य निर्देशनालय, बागमती प्रदेशका कन्सल्टेन्ट आयुर्वेद विज्ञ डा. अभिषेक ताम्राकार विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो ।

गोष्ठीमा जिल्लामा सञ्चालित आयुर्वेद सेवाको प्रभावकारिता, हालसम्म हासिल भएका उपलब्धि तथा सेवा प्रवाहका क्रममा देखिएका समस्या र चुनौतीबारे समीक्षा गरिएको थियो ।

आगामी दिनमा आयुर्वेद सेवालाई थप गुणस्तरीय र प्रभावकारी बनाउने उपायबारे पनि छलफल गरिएको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सिन्धुलीका निमित्त कार्यालय प्रमुख दीपक तिमल्सिनाले जानकारी दिनुभयो ।

कार्यक्रममा बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य अधिकृत ओमकुमारी राजवंशीसहित विभिन्न कार्यालयका प्रमुख, व्यवस्थापन समितिका सदस्य, पत्रकार तथा सरोकारवालाहरूको उपस्थिति रहेको आयोजकले जनाएको छ ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार