सिन्धुली । कमलामाई नगरपालिका-८ स्थित बागमारामा ‘बहुला’ स्यालले गाउँबस्तीमा पसेर मानिस तथा घरपालुवा पशुचौपायालाई टोकेपछि स्थानीय त्रसित भएका छन् ।
२०८३ असोज १८ गते जङ्गलबाट बस्तीमा आएको स्यालले स्थानीय नविना मगरलाई घरको आँगनमै आक्रमण गरी घाइते बनाएको हो ।
स्यालको टोकाइबाट घाइते मगरलाई तत्काल प्राथमिक उपचार तथा रेबिजविरुद्धको सुई लगाउन स्वास्थ्य संस्था लगिएको स्थानीयले बताएका छन् । स्यालले मगरसँगै उहाँको घरको राँगालाई समेत टोकेको स्थानीय सूर्य तामाङले जानकारी दिनुभयो ।
बहुलाएको अवस्थामा गाउँमा प्रवेश गरेको बताइएकाले त्यसले अन्य घरपालुवा गाई, भैंसी, खसी, बोका तथा बाख्रालाई समेत टोकेको हुनसक्ने स्थानीयको आशङ्का छ ।
मानिस तथा पशुचौपायालाई टोकेपछि गाउँमा रेबिज सङ्क्रमण फैलिन सक्ने जोखिम बढेको भन्दै स्थानीय बासिन्दा चिन्तित भएका छन् ।
स्यालको आक्रमणबाट घाइते भएकी मगर उपचारका लागि स्वास्थ्य संस्थामा पुगे पनि टोकाइमा परेका घरपालुवा पशुचौपायाको भने हालसम्म उपचार तथा स्वास्थ्य परीक्षण हुन नसकेको स्थानीयले बताएका छन् ।
पशुमा रेबिज सङ्क्रमण भएनभएको पहिचान गरी आवश्यक खोप तथा उपचारको व्यवस्था गर्न स्थानीय तह र पशु सेवा शाखाले तत्काल पहल गर्नुपर्ने उनीहरूको माग छ ।
पछिल्लो समय गाउँबस्तीमा स्याल पस्ने र आक्रमण गर्ने घटना बढेपछि बागमारा क्षेत्रका सर्वसाधारण घरबाहिर निस्कनसमेत डराउन थालेका छन् ।
स्थानीयले बस्तीमा थप क्षति हुन नदिन बौलाहा स्यालको नियन्त्रण तथा जोखिममा रहेका मानिस र पशुचौपायाको स्वास्थ्य परीक्षण र उपचारको तत्काल व्यवस्था गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।