मानव आवाज

२०८३ असोज २३ गते
00: 00: 00
२०८३ असोज २३ गते

भोटेकोशी बाढीपीडितका लागि सिन्धुलीबाट ५८ लाख १४ हजार सङ्‌कलन

सिन्धुली । भोटेकोशी क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित नागरिकको सहयोगार्थ सिन्धुलीका विभिन्न सङ्घसंस्था तथा व्यक्तिहरूबाट ५८ लाख १४ हजार २ सय ३६ रुपियाँ सङ्कलन भएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको आह्वानअनुसार सङ्कलन गरिएको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको बैङ्क भौचर २०८३ असोज १५ गते सिन्धुलीका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो ।

२०८३ भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सिन्धुलीका विभिन्न संघसंस्था, समाजसेवी, दाता तथा अन्य व्यक्तिहरूबाट रकम सङ्कलन गरिएको थियो ।

बैङ्क भौचर बुझ्दै प्रमुख जिल्ला अधिकारी श्रेष्ठले विपद्को समयमा सङ्घसंस्था, समाजसेवी, दाता तथा विभिन्न निकायले मानवीय सहायता र राहत उद्धारका लागि पुर्‍याएको योगदान महत्वपूर्ण रहेको बताउनुभयो ।

उहाँले बाढीपहिरोबाट प्रभावित नागरिकलाई राहत तथा उद्धारमा सहयोग पुर्‍याउने सङ्घसंस्थाका प्रतिनिधिहरूले मानवीय सेवामा महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्नुभयो ।

श्रेष्ठले विपद् व्यवस्थापन तथा मानवीय सेवाका क्षेत्रमा सिन्धुलीका सङ्घसंस्थाले पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता मानवीय कार्यमा सहकार्य आवश्यक रहेको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी श्रेष्ठका अनुसार जिल्लाका विभिन्न सङ्घसंस्था तथा निकायको सक्रिय सहभागितामा उक्त रकम सङ्कलन गरिएको हो ।

रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा हुने क्रम भने अझै जारी रहेको छ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीका अनुसार जिल्लाका विभिन्न निकाय तथा सङ्घसंस्थामार्फत राहत रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गर्ने कार्य भइरहेको छ ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार