सिन्धुली । नेपालीहरूको महान् चाड बडादशैं, तिहार तथा छठ पर्व नजिकिएसँगै सिन्धुलीमाढी बजारमा चहलपहल बढेको छ ।
बजारका पसलमा झुन्ड्याइएका रङ्गीबिरङ्गी कपडा, आवश्यक सामग्री खरिद गर्न व्यस्त ग्राहक र किनमेलका लागि बजार धाउने सर्वसाधारणको भीडले बजारलाई उत्सवमय बनाएको छ ।
भदौ महिनासम्म सुनसानजस्तै देखिने सिन्धुलीमाढी बजारमा यतिबेला दशैंको रौनक छाएको छ । चाडपर्वका लागि आवश्यक सामग्री खरिद गर्न उपभोक्ता बजार आउन थालेपछि व्यापार बढ्ने आशाले व्यवसायीमा पनि उत्साह थपिएको छ ।
दशैं भन्नासाथ नयाँ लुगा, मीठोमसिनो खानेकुरा, परिवारसँगको भेटघाट र आफन्तसँग खुसी साटासाट गर्ने क्षणको सम्झना आउँछ ।
यही खुसीलाई स्वागत गर्न यतिबेला सिन्धुलीमाढी बजारमा किनमेल गर्नेहरूको भीड लागेको छ । कोही परिवारका सदस्यका लागि नयाँ कपडा किन्न व्यस्त छन् भने कोही घरमा आवश्यक सामग्री जुटाउन बजार धाइरहेका छन् ।
असोज २५ गतेदेखि सिन्धुलीमाढी बजारमा उपभोक्ताको चहलपहल बढ्न थालेको हो । धुरा बजार, बसपार्क आसपास, स्टल बजार, १ नम्बर बजार र २ नम्बर बजारलगायतका क्षेत्रमा किनमेल गर्नेहरूको भीड देखिन थालेको छ ।
जिल्लाका विभिन्न स्थानबाट आवश्यक सामग्री खरिद गर्न सदरमुकाम आउने सर्वसाधारणको सङ्ख्या बढेसँगै बजारमा चहलपहल बढेको हो ।
सिन्धुलीमाढीका पसलमा अहिले ग्राहकको आवागमन बढेको छ । सामान्य दिनमा ग्राहकको प्रतीक्षामा समय बिताउने व्यापारीहरू यतिबेला सामान देखाउन र बिक्री गर्न व्यस्त देखिन्छन् । विशेषगरी लत्ताकपडा पसलमा दशैंको किनमेल गर्नेहरूको चहलपहल बढी देखिएको छ ।
सिन्धुलीमाढीमा विगत छ वर्षदेखि फेन्सी व्यवसाय सञ्चालन गर्दै आउनुभएका श्रिया कपडा पसलका सञ्चालक राम थापाका अनुसार पछिल्लो एक सातादेखि बजारमा ग्राहकको भीड बढ्दै गएको छ ।
ग्राहकको चहलपहल बढेसँगै व्यापारमा पनि सुधार आएको उहाँले बताउनुभयो । चाडपर्वका बेला नयाँ कपडा किन्ने परम्पराले फेन्सी व्यवसायमा उत्साह थपेको उहाँको भनाइ छ ।
वर्षभरि व्यापारको प्रतीक्षामा रहने साना तथा खुद्रा व्यवसायीका लागि पनि दशैं-तिहारको समय विशेष महत्त्वपूर्ण मानिन्छ ।
चाडपर्वका बेला हुने किनमेलले व्यापार बढाउने भएकाले व्यवसायीहरूले यो समयलाई आशा र उत्साहका साथ हेर्ने गर्छन् ।
दशैंको रौनक बजारमा मात्र सीमित छैन । रोजगारी, व्यापार तथा अध्ययनका सिलसिलामा घरपरिवारबाट टाढा रहेका नेपालीहरू पनि चाडपर्व मनाउन घर फर्कने तयारीमा छन् ।
वर्षभरि आआफ्नो काममा व्यस्त रहनेहरूका लागि दशैंतिहार परिवारसँग भेटघाट गर्ने, आफन्तसँग खुसी साट्ने र आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउने अवसर पनि हो ।
घर फर्कने तयारीसँगै परिवारका सदस्यका लागि नयाँ कपडा किन्ने, घरमा आवश्यक सामग्री जुटाउने र चाडपर्वको तयारी पूरा गर्ने क्रम बढ्दै आएको छ । बजारमा देखिएको चहलपहलले घरघरमा दशैंको प्रतीक्षा सुरु भइसकेको सङ्केत गरेको छ ।
नेपाली समाजमा दशैंलाई टीका, जमरा, आशीर्वाद र पारिवारिक मिलनको पर्वका रूपमा लिइन्छ। तिहारले दाजुभाइ-दिदीबहिनीबीचको आत्मीयता र आपसी सद्भावलाई थप प्रगाढ बनाउँछ । यी पर्वको आगमनसँगै बजारदेखि घरआँगनसम्म खुसी र उमङ्ग फैलिन थालेको छ ।
सिन्धुलीमाढीका सडक र पसलमा बढ्दै गएको भीडले चाडपर्व नजिकिएको आभास गराएको छ । ग्राहकको चहलपहल, व्यापारीको व्यस्तता र घर फर्कनेहरूको उत्साहले सिन्धुलीमाढीलाई क्रमशः उत्सवमय बनाउँदै लगेको छ ।
दशैंतिहारको यही रौनकले बजारमा व्यापार बढ्ने आशा जगाएको छ भने सर्वसाधारणको मनमा चाडपर्वको उमङ्ग थपेको छ ।