मानव आवाज

२०८३ जेष्ठ १६ गते
00: 00: 00
२०८३ जेष्ठ १६ गते

करेसाबारीबाट आत्मनिर्भर बन्दै सालुबेशीका महिला

सिन्धुली सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–२, सालुबेशीकी जीतमाया बम्जनको जीवन चार वर्षअघिसम्म अन्य ग्रामीण महिलाको जस्तै घरधन्दा, मेलापात र परिवारको जिम्मेवारीमा सीमित थियो ।

बिहान–साँझ काममा खटिए पनि परिवारको दैनिक गुजारा चलाउन कठिनाइ हुन्थ्यो । तर, अहिले उहाँ व्यावसायिक कृषि उत्पादनसँगै नेतृत्वदायी भूमिकामा समेत सक्रिय हुनुहुन्छ ।

आफ्नै करेसाबारीमा जैविक विधिबाट उत्पादन गरिएको ताजा तरकारीले परिवारको पोषण आवश्यकतामात्र पूरा गरेको छैन, अतिरिक्त उत्पादन बिक्री गरेर मासिक आम्दानीसमेत भइरहेको छ ।

यतिबेला जीतमायाको करेसाबारी बेमौसमी काक्रो, टमाटर, स्कुस, साग, क्याप्सिकम र खुर्सानीले भरिएको छ । छाप्रो टनेलमा झुन्डिएका लटरम्म काक्रा देखाउँदै उहाँ भन्नुहुन्छ, “बीउ रोप्दा र गोडमेल गर्दा दुःख हुन्छ, तर फल्न थालेपछि त्यो दुःखको मूल्य पाइन्छ ।”

पहिले एक-दुई प्रकारका तरकारी जुटाउनसमेत कठिनाइ हुने उहाँको भान्सा अहिले विविधताले भरिएको छ ।

“अहिले हाम्रो भान्सामा सातै दिन फरक–फरक प्रकारका तरकारी पाक्छन्,” उहाँले भन्नुभयो । घरमा खपत भएर बाँकी रहेको तरकारी बिक्रीबाट उहाँले मासिक १५ हजार रुपियाँसम्म आम्दानी गर्दै आउनुभएको छ ।

विषादी र रासायनिक मलको अत्यधिक प्रयोगले स्वास्थ्यमा असर पार्ने र स्वादमा पनि कमी आउने भएकाले आफूले जैविक खेतीलाई प्राथमिकता दिएको उहाँ बताउनुहुन्छ ।

जैविक उत्पादनले परिवारको स्वास्थ्यमा सकारात्मक प्रभाव पारेको मात्र होइन, बजारमा समेत यसको माग बढ्दै गएको छ ।

उहाँको आत्मनिर्भरता तरकारी खेतीमा मात्र सीमित छैन । गोठमा भैँसी पालन, आफ्नै बारीमा पोषिलो घाँस उत्पादन, स्थानीय जातका कुखुरा तथा बाख्रा पालनले पनि आम्दानीका स्रोत विस्तार गरेका छन् ।

दूध र दही बिक्री गर्नुका साथै किम्बु र अम्रिसोजस्ता घाँसका बिरुवा बिक्री गरेर समेत अतिरिक्त आम्दानी गर्दै आउनुभएको छ ।

यसरी उहाँले परम्परागत कृषिलाई आधुनिक र व्यवस्थित ढंगले अपनाउँदै जीवनस्तर उकास्न सफल हुनुभएको छ ।

यसै गाउँकी जिरीमाया लामाले पनि एक कठ्ठा जमिनलाई व्यवस्थित करेसाबारीमा रूपान्तरण गर्नुभएको छ ।

टनेलभित्र लहलहाएका काक्रा, क्याप्सिकम, साग, खुर्सानी, भान्टा र बोडीले करेसाबारी आकर्षक बनेको छ ।

गमलामा रोपिएका राताम्मे स्ट्रबेरीले झन् यसको सौन्दर्य बढाएको छ । अतिरिक्त तरकारी बिक्रीबाट उहाँले मासिक १२ हजार रुपियाँसम्म आम्दानी गर्ने गरेको बताउनुभयो ।

यी परिवर्तनहरूको आधार भनेको सामूहिक प्रयास र प्राविधिक सहयोग हो । वर्ल्ड नेभर्ससँगको साझेदारीमा सिड्स नेपाल, सिन्धुलीले सञ्चालन गरेको नेपाल एकीकृत ग्रामीण विकास परियोजना अन्तर्गत महिलाहरूलाई सालुबेशी कृषक समूहमा आबद्ध गराई कृषि तालिम, नर्सरी व्यवस्थापन, करेसाबारी विकास तथा सशक्तीकरणसम्बन्धी विभिन्न तालिम प्रदान गरिएको छ । यही सहयोगपछि आफूहरूको जीवनमा सकारात्मक परिवर्तन आएको महिलाहरू बताउँछन् ।

समूहकी सचिव कविता स्याङतानका अनुसार तरकारी बिक्रीबाट प्राप्त आम्दानीको एक हिस्सा समूहमा बचत गरिन्छ ।

“सुरुमा मासिक ५० रुपियाँ बचत गर्ने गरेका थियौँ। अहिले बढेर १ सय ५० रुपैयि पुगेको छ,” उहाँले भन्नुभयो ।

समूहमा १८ जना सदस्य आबद्ध छन् र तीन वर्षको अवधिमा १ लाख रुपियाँभन्दा बढी बचत सङ्कलन भइसकेको छ । यो रकम सदस्यहरूले तरकारी बिक्रीबाट गरेको आम्दानीबाट बचत गरिएको हो ।

कविताको आफ्नै करेसाबारी पनि उदाहरणीय छ । उहाँले भान्टा, रायोको साग, लट्टेको साग, बोडी, क्याप्सिकम, बन्दाकोपी, काक्रा र फर्सीजस्ता सातदेखि नौ प्रकारका तरकारी वर्षभरि उत्पादन गर्दै आउनुभएको छ ।

दुई ओटा भैँसी पालन गर्नुभएको छ । कृषि वन कार्यक्रममार्फत आफ्नै बारीमा घाँस उत्पादन हुन थालेपछि जंगल धाउनुपर्ने बाध्यता पनि हटेको छ ।

यी सबै परिवर्तनको मूल आधार भनेको काम गर्ने शैलीमा आएको परिवर्तन हो। पहिलेदेखि गरिँदै आएको कामलाई व्यवस्थित, योजनाबद्ध र व्यावसायिक रूपमा अघि बढाउँदा महिलाहरूको जीवनमा उल्लेखनीय सुधार आएको छ । यद्यपि, अझै पनि केही चुनौती बाँकी छन् ।

महिलाहरूले सीपमूलक तालिम, व्यवस्थित टनेल निर्माण तथा निरन्तर प्राविधिक सहयोगको आवश्यकता औंल्याएका छन् । यस्ता सहयोग निरन्तर प्राप्त भए उत्पादन र आम्दानी अझ बढ्ने उनीहरूको विश्वास छ ।

जीतमाया, जिरीमाया र कविताजस्ता महिलाहरूको सफलताले आत्मनिर्भरता, महिला सशक्तीकरण र दिगो ग्रामीण विकासको सशक्त उदाहरण प्रस्तुत गरेको छ ।

साझेदारी, सीप र सही मार्गदर्शनको जगमा उभिएको यो परिवर्तन नेपाल एकीकृत ग्रामीण विकास परियोजनाको प्रभावकारी परिणामका रूपमा देखिएको छ ।

परियोजनाले ग्रामीण महिलाहरूलाई सीप, आत्मविश्वास र अवसर प्रदान गर्दै आत्मनिर्भर बनाउने लक्ष्यलाई सार्थकता दिएको छ ।

Author

Share the News

Recent News

Related News