मानव आवाज

२०८३ श्रावण २३ गते
00: 00: 00
२०८३ श्रावण २३ गते

मरिण-३ को बरुणमा वडा सेवा केन्द्र स्थापना

सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिका–३ स्थित बरुणमा वडा सेवा केन्द्र स्थापना गरिएको छ । भौगोलिक विकटताका कारण वडा कार्यालयसम्म पुगेर सेवा लिन कठिनाइ भोग्दै आएका नागरिकको सहजताका लागि सेवा केन्द्र स्थापना गरिएको वडा कार्यालयले जनाएको छ ।

वडा कार्यालयबाट प्रवाह हुने सबै सेवा बरुणस्थित सेवा केन्द्रबाटै उपलब्ध गराउने गरी केन्द्र स्थापना गरिएको हो ।

सेवा केन्द्रको आज वडा अध्यक्ष जीतबहादुर श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा मरिण गाउँपालिका अध्यक्ष विमर्श मुक्तान (प्रख्यात) ले उद्घाटन गर्नुभयो ।

सामान्य कामका लागि पनि घण्टौँ हिँडेर वडा कार्यालय पुग्नुपर्ने बरुणवासी नागरिकको समस्यालाई मध्यनजर गर्दै सेवा केन्द्र स्थापना गरिएको गाउँपालिका अध्यक्ष मुक्तानले बताउनुभयो ।

सेवा केन्द्र स्थापनापछि स्थानीय नागरिकलाई वडा कार्यालयसम्म पुग्नुपर्ने बाध्यता हट्ने उहाँको भनाइ छ ।

वडा सचिवकै उपस्थितिमा सेवा केन्द्रबाट वडाका सबै सेवा प्रवाह गरिने वडा अध्यक्ष जीतबहादुर श्रेष्ठले बताउनुभयो ।

करिब ५ सय घरधुरी रहेको बरुण वडा कार्यालयबाट १२ किलोमिटरभन्दा बढीको दूरीमा रहेको छ ।

भौगोलिक दूरी र यातायातको कठिनाइका कारण स्थानीयवासीले सामान्य प्रशासनिक सेवाका लागि समेत लामो समय र खर्च व्यहोर्नुपर्ने अवस्था थियो ।

सेवा केन्द्र उद्घाटन कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मधु लाखे, वडा सदस्य, वडाका कर्मचारी तथा स्थानीयवासीको उपस्थिति रहेको थियो ।

Author

Share the News

Recent News

Related News