सिन्धुली । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका तथा बेपत्ता भएका नागरिकको सम्झनामा सिन्धुलीमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको छ ।
२०८३ भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण ज्यान गुमाएका तथा बेपत्ता नागरिकको १३औँ पुण्यतिथिका अवसरमा सोमबार सिन्धुलीका नौ ओटै स्थानीय तहमा छुट्टाछुट्टै श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको हो ।
कमलामाई नगरपालिकाको आयोजनामा लोकतान्त्रिक चौतारोमा दीप प्रज्वलन गरी बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो ।
कार्यक्रममा मृतकहरूको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिएको थियो ।
श्रद्धाञ्जली सभामा कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले विपत्तिमा परेका नागरिकको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले बाढीमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो ।
नगरप्रमुख पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, जिल्ला समन्वय समितिका उपप्रमुख शान्ता कार्की, नगर उपप्रमुख मञ्जु देवकोटा, सुरक्षा निकायका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, उद्योगी-व्यवसायी, पत्रकार तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।
कार्यक्रममा सहभागीहरूले एक मिनेट मौन धारण गर्दै बाढीमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।
साथै, प्रभावित परिवारलाई विपत्तिको सामना गर्ने धैर्य र शक्ति प्राप्त होस् तथा बेपत्ता नागरिकको खोजी, उद्धार र राहत कार्य प्रभावकारी रूपमा अघि बढोस् भन्ने कामना गरिएको थियो ।
भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोबाट रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको छ ।
बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न क्षेत्रबाट सहयोग तथा पहल भइरहेका छन् ।