मानव आवाज

२०८३ भदौ २२ गते
00: 00: 00
२०८३ भदौ २२ गते

दुधौलीमा स्थानीय तह र मानव अधिकारसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

सिन्धुली दुधौली नगरपालिका र इन्सेक बागमती प्रदेश कार्यालयको संयुक्त आयोजना, राष्ट्रिय मानव अधिकार आयोगको सहकार्य तथा स्वाधीन खबर पत्रिकाको समन्वयमा स्थानीय तह र मानव अधिकारसम्बन्धी प्रशिक्षण कार्यक्रम २०८३ जेठ २६ गते सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै दुधौली नगरपालिकाका कार्यवाहक नगरप्रमुख चन्द्रकिशोर थारुले मानव अधिकारसम्बन्धी महत्वपूर्ण कार्यक्रम नगरपालिकामा आयोजना गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।

उहाँले पालिकाले वार्षिक नीति तथा कार्यक्रममा मानव अधिकार र सुशासनलाई प्राथमिकतामा राख्दै पछाडि पारिएका वर्ग तथा समुदायका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।

उहाँले शिक्षा, स्वास्थ्य तथा आधारभूत अधिकारबाट कुनै पनि नागरिक वञ्चित भए अन्य अधिकारहरू समेत प्रभावित हुने भएकाले मानव अधिकारका विषयलाई स्थानीय योजना तथा कार्यक्रममा समेट्न आवश्यक रहेको बताउनुभयो ।

मानव अधिकारको क्षेत्र फराकिलो भएकाले यसको संरक्षण र प्रवर्धनका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो ।

राष्ट्रिय मानव अधिकार आयोगका सहसचिव यज्ञप्रसाद अधिकारीले मानव अधिकार र सुशासनबिच अन्योन्याश्रित सम्बन्ध रहेको उल्लेख गर्दै नेपाल मानव अधिकारसम्बन्धी सातवटा प्रमुख अन्तर्राष्ट्रिय महासन्धिको पक्षराष्ट्र भएकाले ती महासन्धिको प्रभावकारी कार्यान्वयनका लागि राज्य जिम्मेवार र जबाफदेही हुनुपर्नेमा जोड दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले मानव अधिकारका विभिन्न पक्ष कार्यान्वयनमा स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

उहाँले उपलब्ध स्रोत र साधनको आधारमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, दलित तथा अपाङ्गता भएका व्यक्तिहरूको सशक्तीकरणका लागि सीपमूलक, नेतृत्व विकास तथा सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिँदै आगामी वर्षको नीति तथा कार्यक्रममा पनि मानव अधिकारका विषयलाई समेट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

इलाका प्रहरी कार्यालय डकाहाकी प्रहरी निरीक्षक सपना खड्काले मानव अधिकार जन्मसिद्ध अधिकार भएको र सबै नागरिकका लागि समान रूपमा लागू हुने बताउनुभयो ।

उहाँले अधिकारको उपभोगसँगै कर्तव्यको पालना पनि उत्तिकै आवश्यक रहेको उल्लेख गर्दै नागरिकका अधिकार संरक्षणका लागि नेपाल प्रहरी प्रतिबद्ध रहेको बताउनुभयो ।

इन्सेक बागमती प्रदेश संयोजक शिवप्रसाद खकुरेलले नीति तथा योजना निर्माणका क्रममा स्थानीय तहदेखि सङ्घीय सरकारसम्मले समाजका पछाडि पारिएका वर्ग तथा समुदायलाई मूलधारमा समेट्न विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

उहाँले सरकारले तयार पारेको मानव अधिकारसम्बन्धी राष्ट्रिय कार्ययोजनाको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो ।

राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालय, हेटौँडाका मानव अधिकार अधिकृत कृष्णप्रसाद मिश्रले मानव अधिकार आज विश्वव्यापी आवश्यकताको विषय बनेको बताउनुभयो ।

उहाँले मानव अधिकारजस्तो संवेदनशील विषयको संरक्षण र प्रवर्धन सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै स्थानीय तहमा हुने सामान्य विवाद तथा घटनाको निरूपण गर्ने जिम्मेवारी स्थानीय न्यायिक समितिलाई दिइएकाले न्यायिक समितिलाई अझ प्रभावकारी र सुदृढ बनाउनुपर्ने धारणा राख्नुभयो ।

स्वाधीन खबर पत्रिकाका प्रधान सम्पादक रुद्रबहादुर खड्काले दुधौली नगरपालिकामा मानव अधिकार प्रवर्द्धन, समुदायस्तरमा सचेतना अभिवृद्धि तथा सेवा प्रवाहलाई मानव अधिकारमैत्री बनाउन कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

उहाँले जनताका आवाजलाई सूचनामार्फत प्रवाह गर्न तथा मानव अधिकार सुनिश्चित गर्न कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

नगरपालिकाका प्रवक्ता दीपक खड्काले स्वागत मन्तव्य व्यक्त गर्दै प्रत्येक नागरिकले मानव अधिकारका विषयमा जानकारी राख्नुपर्ने बताउनुभयो ।

उहाँले सेवा प्रवाहका क्रममा मानव अधिकारका मूल्य-मान्यतालाई आत्मसात् गर्न तथा जनचेतना अभिवृद्धिमा यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

आयोजकका अनुसार कार्यक्रममा नगरपालिकाका १४ ओटै वडाका विभिन्न क्षेत्रका करिब १ सय ५० जनाको सहभागिता रहेको थियो ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार