मानव आवाज

२०८३ भाद्र २ गते
00: 00: 00
२०८३ भाद्र २ गते

सिन्धुलीका पत्रकारलाई बाल संवेदनशील तथा डिजिटल रिपोर्टिङसम्बन्धी तालिम

सिन्धुली । कमलामाई नगरपालिका–२, ढुङ्ग्रेभञ्ज्याङमा सञ्चालित दुईदिने बाल संवेदनशील तथा डिजिटल रिपोर्टिङसम्बन्धी क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । तालिम २०८३ साउन ३१ गते र २०८३ भदौ १ गते सञ्चालन गरिएको थियो ।

वर्ल्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा सिड्स नेपाल सिन्धुलीको आयोजनामा सञ्चालित तालिम सिन्धुली जिल्लामा पत्रकारिताको क्षेत्रमा क्रियाशील पत्रकारहरूको नेतृत्व विकास तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।

सिड्स नेपाल सिन्धुलीका कोषाध्यक्ष बिमला श्रेष्ठले पत्रकारहरूको क्षमता अभिवृद्धिसँगै बालबालिकासँग सम्बन्धित विषयलाई संवेदनशील र जिम्मेवार ढङ्गले सञ्चारमाध्यममा प्रस्तुत गर्न तालिम आयोजना गरिएको जानकारी दिनुभयो ।

दुई दिनसम्म सञ्चालन भएको तालिममा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष तथा राष्ट्रिय समाचार समिति (रासस) का पूर्वअध्यक्ष धर्मेन्द्र झाले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्दै सहजीकरण गर्नुभएको थियो ।

तालिममा बालअधिकार, बालअधिकारसम्बन्धी कानुनी व्यवस्था, बाल संवेदनशीलता तथा बालबालिकासँग सम्बन्धित मुद्दाका विषयमा जानकारी गराइएको थियो ।

बालबालिकाको हितलाई केन्द्रमा राखेर समाचारको खोजी, सङ्कलन, निर्माण तथा सञ्चारमाध्यममार्फत प्रकाशन र प्रसारण गर्दा अपनाउनुपर्ने संवेदनशीलता र सावधानीबारे पनि सहभागीलाई जानकारी गराइएको पत्रकार मेनुका बुढाथोकीले जानकारी दिनुभयो ।

समापन कार्यक्रममा प्रशिक्षक धर्मेन्द्र झा, सिड्स नेपाल सिन्धुलीका कोषाध्यक्ष बिमला श्रेष्ठ, वर्ल्ड भिजन इन्टरनेशनल नेपालकी कम्युनिकेसन म्यानेजर उमा थापा तथा वर्ल्ड भिजन इन्टरनेशनल नेपालको पूर्वी क्षेत्रीय कार्यालय, बर्दिवासका कार्यक्रम प्रबन्धक प्रमिल अधिकारीलगायतले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा प्रयोग गर्दै बालबालिकाको हित हुने विषयलाई प्राथमिकताका साथ समाचारका रूपमा सङ्कलन, प्रकाशन तथा प्रसारण गर्न पत्रकारहरूलाई आग्रह गर्नुभयो ।

उहाँहरूले तालिमबाट सिकेका विषयलाई पत्रकारिताको व्यवहारमा प्रयोग गरी बाल अधिकारको संरक्षण, प्रवर्द्धन तथा बालबालिकासम्बन्धी सवाललाई जिम्मेवार र संवेदनशील ढङ्गले सञ्चारमाध्यममा उठान गर्न योगदान पुग्ने अपेक्षा व्यक्त गर्नुभयो ।

Author

Share the News

Recent News

Related News