सिन्धुली । गोलञ्जोर गाउँपालिका–६, बन्दीजोरस्थित श्री प्राथमिक विद्यालयमा हाल चार जना विद्यार्थी मात्रै अध्ययनरत रहेका छन् ।
विद्यालयकी प्रधानाध्यापक अप्सरा भण्डारीका अनुसार बाल कक्षामा एक जना, कक्षा २ मा दुई जना र कक्षा ३ मा एक जना विद्यार्थी भर्ना भएका छन् । तर, नाम दर्ता भएका सबै विद्यार्थी नियमित रूपमा विद्यालय नआउने गरेको उहाँले बताउनुभयो ।
“हाल विद्यालयमा चार जना विद्यार्थीको नाम दर्ता छ, तर नियमित रूपमा दुई-तीन जना मात्र उपस्थित हुन्छन् ।”-भण्डारीले भन्नुभयो-“तीनचार वर्षअघि विद्यालयमा १३-१४ जना विद्यार्थी थिए । अहिले विद्यालय नाममै सीमितजस्तो बनेको छ ।”
कक्षा ३ सम्म अध्ययन हुने उक्त विद्यालयमा विद्यार्थी सङ्ख्या लगातार घट्दै गएपछि गाउँपालिकाले दुई जना शिक्षकको दरबन्दी कटौती गरेको छ ।
विद्यार्थी सङ्ख्या न्यून भएपछि गाउँपालिकाको शिक्षा शाखाले निजी स्रोतमा कार्यरत एक जना शिक्षक (भण्डारी)लाई मात्र कायम राखेको जनाएको छ । विद्यालयमा एक जना कार्यालय सहयोगी कार्यरत छन् ।
गाउँपालिकाको शिक्षा शाखाका अनुसार पाँच वर्षअघि उक्त विद्यालयलाई कक्षा ५ बाट घटाएर कक्षा ३ सम्ममात्र सञ्चालन हुने बनाइएको थियो ।