सिन्धुली । कमलामाई नगरपालिकाले अपाङ्गता भएका विद्यार्थीलाई सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि कार्यालयसम्म धाउनुपर्ने बाध्यता अन्त्य गर्दै विद्यालयमै पुगेर सेवा प्रदान गरेको छ ।
कमलामाई नगरपालिका सामाजिक सुरक्षा तथा पञ्जीकरण उपशाखाले वडा नं. ६, जसेदमारस्थित नवज्योति बहिरा माध्यमिक विद्यालयमा अध्ययनरत अपाङ्गता भएका विद्यार्थीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरणसम्बन्धी सेवा विद्यालयमै पुगेर उपलब्ध गराएको हो ।
नगरपालिकाको पहलबाट विभिन्न स्थानबाट आएर विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थी तथा उनीहरूका अभिभावकलाई भत्ता नवीकरणका लागि घर फर्किनुपर्ने वा नगरपालिकाको कार्यालयसम्म पुग्नुपर्ने झन्झट हटेको विद्यालयका प्रधानाध्यापक विजय तामाङले जानकारी दिनुभयो ।
विद्यालयमै पुगेर सेवा उपलब्ध गराइएपछि विद्यार्थी तथा अभिभावकलाई प्रत्यक्ष राहत मिलेको छ। अपाङ्गता भएका विद्यार्थीको अवस्था र आवश्यकतालाई ध्यानमा राखेर सेवा प्रवाह गरिनु सकारात्मक भएको उनीहरूको भनाइ छ ।
यसले सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयनसँगै स्थानीय सरकारको उत्तरदायित्व र पहुँचमुखी सेवा प्रवाहलाई समेत बलियो बनाएको बताइएको छ ।
नगरपालिकाले आगामी दिनमा पनि सेवाग्राहीको अवस्था, आवश्यकता र सहजतालाई प्राथमिकतामा राख्दै सम्भव भएसम्म सेवा प्रवाहलाई नागरिककै नजिक पुर्याउने प्रतिबद्धता जनाएको छ ।
कार्यालयसम्म पुग्न कठिन हुने ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अन्य लक्षित वर्गलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले यस्ता घरदैलो तथा सेवाग्राही केन्द्रित कार्यक्रमलाई निरन्तरता दिइने नगर प्रमुख पोखरीले प्रतिबद्धता जनाउनुभएको छ ।
नगरपालिकाका अनुसार सेवाग्राहीको पहुँच र सुविधालाई केन्द्रमा राखेर सेवा प्रवाह गर्दा सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारिता बढ्नुका साथै लक्षित वर्गले राज्यबाट प्राप्त गर्ने सेवामा सहज पहुँच स्थापित हुने अपेक्षा गरिएको छ ।