मानव आवाज

२०८३ असार १५ गते
00: 00: 00
२०८३ असार १५ गते

सिन्धुली पूर्णखोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा

सिन्धुली “स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता–पूर्णखोप सुनिश्चितता तथा दिगोपना हाम्रो प्रतिबद्धता” भन्ने मूल नारासहित सिन्धुली जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ ।

जिल्ला खोप समन्वय समिति सिन्धुलीको आयोजनामा २०८३ असार १५ गते सम्पन्न घोषणा समारोहमा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगर प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो ।

कार्यक्रममा जिल्लाका नौ ओटै स्थानीय तहले पूर्णखोप सुनिश्चितता कायम गर्न खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै सबै स्थानीय तहलाई सम्मान गरिएको थियो ।

जिल्लामा खोप कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न योगदान पुर्‍याउने जनस्वास्थ्य अधिकृत तथा कमलामाई नगरपालिकाका स्वास्थ्य शाखा प्रमुखलाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो ।

घोषणा कार्यक्रममा जिल्लाका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, स्वास्थ्यकर्मी, स्थानीय तहका प्रमुख तथा उपप्रमुख, सरोकारवाला निकाय, विकास साझेदार र विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रममा जिल्लाका सबै बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार तोकिएका सबै खोप प्राप्त गरेको सुनिश्चित गर्दै पूर्णखोपको दिगोपना कायम राख्ने सामूहिक प्रतिबद्धतापत्रमा हस्ताक्षरसमेत गरिएको थियो ।

प्रतिबद्धतापत्रमार्फत स्थानीय सरकार, स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी तथा सरोकारवालाले आगामी दिनमा पनि प्रत्येक बालबालिकालाई नियमित रूपमा पूर्णखोपको पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रमुख अतिथि बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापा मगरले पूर्णखोप सुनिश्चितता स्वास्थ्य क्षेत्रको महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै यसलाई दिगो बनाउन स्थानीय तह, स्वास्थ्यकर्मी र समुदायबिच निरन्तर सहकार्य आवश्यक रहेको बताउनुभयो ।

उहाँले बागमती प्रदेश सरकारले प्रदेशका सबै जिल्लामा पूर्णखोप सुनिश्चितता कायम गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रत्येक बालबालिकाले समयमै सबै खोप प्राप्त गर्नु आजको आवश्यकता भएकोमा जोड दिनुभयो ।

जिल्ला खोप समन्वय समितिले पूर्णखोप सुनिश्चितता घोषणा कार्यक्रममै सीमित नराखी प्रत्येक बालबालिकाले समयमै सबै खोप प्राप्त गर्ने वातावरण कायम राख्न स्थानीय सरकार, स्वास्थ्य संस्था र समुदायबिचको सहकार्यलाई अझ सुदृढ बनाइने जनाएको छ।

Author

Share the News

Recent News

Related News