सिन्धुली । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले आर्थिक वर्ष २०८२/८३ मा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनबाट ९९ लाख ४६ हजार ५ सय १६ रुपियाँ राजस्व सङ्कलन गरेको जनाएको छ ।
कार्यालय प्रमुख बालकृष्ण प्रधानका अनुसार आर्थिक वर्षभर ट्राफिक नियम उल्लङ्घन गर्ने ९ हजार ९ सय ४१ ओटा सवारीसाधन कारबाहीमा पर्दा उक्त राजस्व सङ्कलन भएको हो ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कार्यालयले १ करोड १९ लाख ९९ हजार १७ रुपियाँ राजस्व सङ्कलन गरेको थियो । त्यसको तुलनामा चालु आर्थिक वर्षमा करिब २० लाख रुपियाँले राजस्व सङ्कलन घटेको छ ।
प्रमुख प्रधानका अनुसार प्रविधिको प्रयोग बढ्नु, चालक तथा सवारीधनीमा ट्राफिक सचेतना अभिवृद्धि हुनु र ट्राफिक नियम उल्लङ्घनका घटना कम हुँदै जानु राजस्व सङ्कलन घट्नुका मुख्य कारण हुन् ।
उहाँले नियम उल्लङ्घनमा कमी आएसँगै सडक दुर्घटनाको सङ्ख्या पनि क्रमशः घट्दै आएको बताउनुभयो ।
कार्यालयका अनुसार कारबाहीमा पर्ने सवारीसाधनमध्ये जिप, कार र भ्यानको सङ्ख्या सबैभन्दा बढी रहेको छ । यी सवारीसाधनबाट नै सबैभन्दा धेरै राजस्व सङ्कलन हुने गरेको प्रमुख प्रधानले जानकारी दिनुभयो ।

ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीधनीले इसेवा वा राष्ट्रिय वाणिज्य बैङ्कमार्फत जरिबाना बुझाउन सक्ने व्यवस्था रहेको छ ।
पहिलो पटक नियम उल्लङ्घन गरेमा ५ सय रुपियाँ, दोस्रो पटक १ हजार रुपियाँ र तेस्रो पटक १ हजार ५ सय रुपियाँ जरिबाना तिर्नुपर्ने व्यवस्था छ ।
आर्थिक वर्ष २०८२/८३ मा जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले ४ हजारभन्दा बढी ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । ती कार्यक्रमबाट ३ लाखभन्दा बढी नागरिक प्रत्यक्ष रूपमा लाभान्वित भएको प्रमुख प्रधानले जानकारी दिनुभयो ।
उहाँका अनुसार ट्राफिक सचेतना कार्यक्रमको विस्तार, प्रविधिको प्रभावकारी प्रयोग तथा चालकहरूमा जिम्मेवारीबोध बढ्दै जाँदा ट्राफिक नियम उल्लङ्घन, राजस्व सङ्कलन र सडक दुर्घटनाको सङ्ख्या घट्दै आएको छ ।
कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ मा २ करोड ६ लाख २० हजार रुपियाँ राजस्व सङ्कलन भएको थियो ।
पछिल्ला तीन आर्थिक वर्षको तथ्याङ्कले राजस्व सङ्कलन क्रमशः घट्दै आएको देखिएका कारण यसलाई ट्राफिक अनुशासनमा आएको सुधार र सडक सुरक्षामा देखिएको सकारात्मक परिवर्तनको सङ्केतका रूपमा लिनुपर्ने प्रमुख प्रधानले बताउनुभयो ।