सिन्धुली । सिन्धुलीमा महिलाको नाममा सम्पत्ति दर्ता गर्ने क्रम बढ्दै गएको देखिएको छ । भूमि प्रशासन कार्यालय सिन्धुलीको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ मा महिलाको नाममा सम्पत्ति दर्ता गराउँदा २ हजार ७४ जनाले राजस्व छुटको सुविधा पाएका छन् ।
कार्यालयका अनुसार राजस्व छुट पाउनेमध्ये १ हजार ३ सय ४५ जना शहरी क्षेत्रका र ७ सय २९ जना ग्रामीण क्षेत्रका महिला रहेका छन् ।
यस तथ्याङ्कले ग्रामीण क्षेत्रको तुलनामा शहरी क्षेत्रमा महिलाको नाममा सम्पत्ति दर्ता गर्ने बढ्दो क्रम देखाउँछ ।
त्यसैगरी, दलित तथा जनजाति शीर्षकअन्तर्गत ग्रामीण क्षेत्रका ७१ जना र शहरी क्षेत्रका ६६ जनाले राजस्व छुटको सुविधा लिएका छन् ।
अपाङ्गता भएका व्यक्तिको शीर्षकमा ग्रामीण क्षेत्रका एक जनाले छुट पाएका छन् भने शहरी क्षेत्रबाट यस शीर्षकमा कुनै पनि व्यक्तिले सुविधा लिएका छैनन् ।
शहीद तथा घाइते अङ्गभङ्ग भएका परिवारका लागि उपलब्ध छुट शीर्षकमा भने आर्थिक वर्ष २०८२/८३ मा कसैले पनि सुविधा नलिएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
यस्तै, अन्य शीर्षकअन्तर्गत ग्रामीण क्षेत्रका १ हजार १२८ जना र शहरी क्षेत्रका १ हजार ११८ जनाले राजस्व छुटको सुविधा लिएका छन् ।
६ हजार ३ सय ८६ लिखत पारित
भूमि प्रशासन कार्यालय सिन्धुलीका अनुसार आर्थिक वर्ष २०८२/८३ मा कुल ६ हजार ३ सय ८६ ओटा लिखत पारित भएका छन् । तीमध्ये ४ हजार ४ सय ५८ ओटा शहरी क्षेत्रका र १ हजार ९ सय २८ ओटा ग्रामीण क्षेत्रका रहेका छन् ।
कार्यालयले सोही आर्थिक वर्षमा विभिन्न शीर्षकबाट १८ करोड ४७ लाख ५४ हजार १ सय १४ रुपियाँ राजस्व सङ्कलन गरेको जनाएको छ ।
अंशबण्डा, घरजग्गा रजिस्ट्रेसन, नामसारी, लिखत पारितलगायत भूमि प्रशासनसम्बन्धी सेवाबाट १२ महिनाको अवधिमा उक्त राजस्व सङ्कलन भएको हो ।
असारमा सबैभन्दा बढी राजस्व
कार्यालयको मासिक तथ्याङ्कअनुसार साउनमा ७७ लाख १८ हजार ४ सय ९८ रुपियाँ, भदौमा ७५ लाख ६१ हजार २ सय २२ रुपियाँ, असोजमा ५८ लाख ५१ हजार ३ सय १ रुपियाँ र कात्तिकमा ५९ लाख ७० हजार ६ सय २४ रुपियाँ राजस्व सङ्कलन भएको थियो ।
त्यसैगरी, मङ्सिरमा १ करोड ५७ लाख ६८ हजार ३ सय ८४ रुपियाँ, पुसमा २ करोड २ लाख ६४ हजार ९ सय ३० रुपियाँ, माघमा १ करोड ७४ लाख ९३ हजार ८ सय ४९ रुपियाँ, फागुनमा १ करोड ३० लाख २८ हजार ९ सय ३४ रुपियाँ र चैतमा १ करोड ८१ लाख ८८ हजार ६ सय ४ रुपियाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।
वैशाखमा २ करोड ५४ लाख ४ हजार ४१ रुपियाँ, जेठमा १ करोड ८० लाख ५३ हजार २ सय ११ रुपियाँ र असारमा २ करोड ९४ लाख ५० हजार ५ सय १६ रुपियाँ राजस्व सङ्कलन भएको छ । असार महिनाको राजस्व सङ्कलन आर्थिक वर्षकै सबैभन्दा बढी रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
वार्षिक तथ्याङ्कले आर्थिक वर्षको अन्तिम चार महिनामा राजस्व सङ्कलन उल्लेख्य रूपमा बढेको देखाएको छ ।
कार्यालयका अनुसार जग्गा खरिदबिक्री, नामसारी, लिखत पारित तथा अन्य भूमि प्रशासनसम्बन्धी सेवामा सेवाग्राहीको चाप बढेसँगै राजस्व सङ्कलनमा समेत वृद्धि भएको हो ।
महिलाको नाममा सम्पत्ति दर्ता गर्दा राज्यले राजस्वमा छुट दिने व्यवस्था गरेसँगै सम्पत्तिमा महिलाको स्वामित्व बढाउने प्रयासलाई पनि यसले प्रोत्साहन गरेको देखिन्छ ।
यद्यपि, ग्रामीण र शहरी क्षेत्रबिच देखिएको अन्तरले ग्रामीण क्षेत्रमा महिलाको सम्पत्तिमाथिको पहुँच र स्वामित्व बढाउन थप पहल आवश्यक रहेको सङ्केत गर्छ ।