मानव आवाज

२०८३ कात्तिक २ गते
00: 00: 00
२०८३ कात्तिक २ गते

सनातन हिन्दु सभ्यताको गौरव जोगाउनुपर्छ : खुश्बु ओली

पोखरा । प्रतिनिधिसभा सदस्य खुश्बु ओलीले नेपालको सनातन हिन्दु सभ्यताको गौरव र पहिचान जोगाउन सबै एकजुट हुनुपर्ने बताएकी छन् ।

मधेश कास्की पोखरा सम्पर्क समाजको आयोजनामा २०८३ असोज ३१ गते पोखरामा आयोजित चौथो नवदुर्गा पूजा विशेष समारोहमा सहभागी हुँदै ओलीले सनातन आस्था, संस्कृति र पहिचानप्रतिको समर्पणका लागि आयोजक परिवारप्रति आभार व्यक्त गर्नुभयो ।

दशैँ तथा चाडपर्वको व्यस्तताका बिच पोखरा आउनुको विशेष भाव रहेको उल्लेख गर्दै उहाँले नेपालको सनातन हिन्दु सभ्यताको गौरव र पहिचान जोगाउन मधेशका हिन्दु समुदायले देखाउँदै आएको आस्था, साहस र समर्पणप्रति सम्मान व्यक्त गर्नुभयो । नेपालको सनातन चेतनालाई जीवन्त राख्ने जागरण अझ सुदृढ हुनुपर्ने उहाँको भनाइ थियो ।

तराईमा हिन्दु समुदायमाथि भएका आक्रमणका घटनापछि हिन्दु युवाहरूमाथि पक्राउ पुर्जी जारी गर्ने तथा फौजदारी अभियोग लगाउने प्रक्रियाबारे उठेका प्रश्नलाई बेवास्ता गर्न नहुने उहाँले बताउनुभयो ।

न्याय सबैका लागि समान हुनुपर्नेमा जोड दिँदै ओलीले कानुन कसैप्रति पूर्वाग्रह राख्ने हतियार बन्न नहुने उल्लेख गर्नुभयो ।

‘कुनै पनि घटनामा निष्पक्ष छानबिन होस्, दोषीले कानुनअनुसार उन्मुक्ति नपाऊन् र निर्दोषले अन्याय भोग्नु नपरोस् ।’-उहाँले भन्नुभयो-‘यही न्यायको पक्षमा मैले आफ्नो आवाज उठाएकी छु र उठाइरहनेछु ।’

सनातन आस्थामा विश्वास गर्ने नेपालीहरू विभाजित भएर नभई आपसी सम्मान, सद्भाव र एकताका साथ अघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।

सनातनीहरूलाई जोड्ने, आफ्नो सभ्यताप्रति गर्व जगाउने र देशभर जागरणको सन्देश फैलाउने अभियानमा आफ्नो प्रतिबद्धता निरन्तर रहने उहाँले बताउनुभयो ।

माता दुर्गाले सबैलाई सत्यका पक्षमा उभिने साहस, अन्यायविरुद्ध बोल्ने शक्ति र सनातन सभ्यताको गौरव जोगाउने प्रेरणा प्रदान गरून् भन्ने कामना गर्दै ओलीले आस्था शक्ति, एकता सामर्थ्य र न्याय आफ्नो अडान भएको उल्लेख गर्नुभयो ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार