पोखरा । पोखरा महानगरपालिका-८, न्युरोडमा स्कुटर दुर्घटना हुँदा कास्कीको अन्नपूर्ण गाउँपालिकाका २८ वर्षीय आशिष कुँवरको मृत्यु भएको छ । कुँवर पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिमा आबद्ध टिकट बुकिङ सहायकका रूपमा कार्यरत हुनुहुन्थ्यो ।
२०८३ कात्तिक ११ गते बिहानको राति २:५० बजे चिप्लेढुङ्गाबाट सभागृहचोकतर्फ जाँदै गरेको ग १६ प ६६१९ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा स्कुटरको पछाडि सवार कुँवरको टाउकोमा गम्भीर चोट लागेको थियो । कास्कीको अन्नपूर्ण गाउँपालिका-१, ढिकुरपोखरी घर भई हाल पोखरा महानगरपालिका-६, लेकसाइड बस्दै आउनुभएका उहाँलाई उपचारका लागि गण्डकी मेडिकल कलेज (जीएमसी) लगिएको थियो । उपचारकै क्रममा उहाँको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
स्कुटर स्याङ्जाको आँधीखोला गाउँपालिका-२, चिलाउनेबास घर भई हाल पोखरा महानगरपालिका-८, न्युरोड बस्ने ४३ वर्षीय भोजराज सापकोटाले चलाउनुभएको प्रहरीले जनाएको छ ।
प्रहरीले स्कुटर र चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।