मानव आवाज

२०८३ कात्तिक ११ गते
00: 00: 00
२०८३ कात्तिक ११ गते

मौसम प्रतिकूल हुने भन्दै कास्की प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह

पोखरा । बङ्गालको खाडीमा विकसित शक्तिशाली समुद्री आँधी ‘अर्णब चक्रवात’को अवशेष उत्तरतर्फ सर्ने क्रममा रहेको भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

मौसम विज्ञान विभागबाट प्राप्त मौसमी बुलेटिनका आधारमा जिल्ला प्रशासन कार्यालय कास्कीले २०८३ कात्तिक ११ गते सूचना जारी गर्दै कात्तिक १२ गते बिहीबारदेखि कात्तिक १४ गते शनिबारसम्म सम्भावित प्रतिकूल मौसमलाई ध्यानमा राखी सतर्क रहन अनुरोध गरेको हो ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी रमेश घर्तीले जारी गर्नुभएको सूचनाअनुसार उक्त अवधिमा हिमाली क्षेत्रमा बाक्लो हिमपात भई हिमपहिरोको जोखिम रहनुका साथै कास्की जिल्ला र आसपासका क्षेत्रमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि अति भारी वर्षा हुन सक्ने सम्भावना छ ।

वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव र जलसतह बढ्ने, आकस्मिक बाढी तथा भेल आउने, पहिरो जाने र सडक भासिने जोखिम रहेकाले सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ ।

सहायक प्रजिअ रमेश घर्ती

नदी तथा खोला किनारमा नजान आग्रह

प्रशासनले आकस्मिक बाढी आउन सक्ने नदी तथा खोला किनारमा माछा मार्ने, पौडी खेल्ने, नुहाउने, लुगा धुने तथा ढुङ्गा, बालुवा र गिट्टी निकाल्ने कामका लागि नजान अनुरोध गरेको छ ।

बाढीका बेला नदी तथा खोलाले बगाएर ल्याएका सामग्री सङ्कलन गर्नसमेत किनारमा नजान र परिवारका सदस्यलाई पनि जान नदिन आग्रह गरिएको छ ।

त्यस्तै, नदी तथा खोला किनारमा गाईवस्तु चराउन, पानी खुवाउन तथा भलिबल, फुटबल र क्रिकेटलगायतका खेल खेल्न नजान प्रशासनले सचेत गराएको छ ।

अभिभावकलाई आफ्ना बालबालिकामाथि विशेष निगरानी राख्न र जोखिमयुक्त स्थानमा जान नदिन पनि अनुरोध गरिएको छ ।

जलसतह बढे सुरक्षित स्थानमा जान आग्रह

नदी तथा खोला किनार र होचो भूभागमा बसोबास गर्ने नागरिकलाई पानीको बहाव र जलसतहमा निरन्तर निगरानी राख्न तथा जलसतह बढ्न थालेमा तत्काल सुरक्षित स्थानमा सर्ने व्यवस्था मिलाउन प्रशासनले आग्रह गरेको छ ।

सवारी चालकलाई नदी तथा खोला किनारका सडक र बगर क्षेत्रमा सवारीसाधन रोक्न वा पार्किङ नगर्न भनिएको छ ।

अत्यावश्यक कामबाहेक यात्रा नगर्न र यात्रा गर्नुपर्ने अवस्था आएमा मार्ग तथा सडकको अवस्थाबारे पूर्वजानकारी लिएर मात्र यात्रा गर्न अनुरोध गरिएको छ ।

हिमाली क्षेत्रमा पदयात्रा नगर्न सुझाव

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेकाले पदयात्रामा ननिस्कन प्रशासनले आग्रह गरेको छ । पदयात्रामा रहेका पर्यटकलाई समेत यात्रा स्थगित गरी सुरक्षित स्थानमा बस्न अनुरोध गरिएको छ ।

प्रशासनले बाढी वा अन्य विपद्को आकस्मिक अवस्था आएमा तत्काल नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न वा प्रहरीको निःशुल्क आपत्कालीन नम्बर १०० तथा विपद् सूचना तथा उद्धारको टोल फ्री नम्बर १२३४ मा जानकारी गराउन आग्रह गरेको छ ।

सम्भावित विपद्बाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न प्रशासनले जारी गरेका निर्देशन पालना गर्न र आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरिएको छ ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार