मानव आवाज

२०८३ कात्तिक ५ गते
00: 00: 00
२०८३ कात्तिक ५ गते

अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना: बाबुछोराको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराको मृत्यु भएको छ ।

भूमिकास्थान नगरपालिका-२, भुमिस्थानस्थित ढाकावाङ-सन्धिखर्क सडकखण्डमा लु ६४ प ७४७१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा भूमिकास्थान नगरपालिका-८, लम्छीका ६२ वर्षीय देवीराम आचार्य र २३ वर्षीय छोरा विवेक आचार्यको मृत्यु भएको हो ।

प्रहरीका अनुसार २०८३ कात्तिक ५ गते बिहान ८:१० बजे दुर्घटनाबारे सूचना प्राप्त भएपछि प्रहरी चौकी ढाकावाङबाट प्रहरी सहायक निरीक्षक वसन्त सिंह ठकुरीको कमाण्डमा टोली घटनास्थल पुगेको थियो ।

घटनास्थलमा मोटरसाइकल सडकबाट करिब ५० मिटर तल खसेको अवस्थामा फेला परेको थियो। बाबुछोरा दुवै मृत अवस्थामा भेटिएका थिए  ।

उनीहरू पुख्र्यौली गाउँ भूमिकास्थान नगरपालिका-८, लम्छीबाट भूमिकास्थान नगरपालिका-२, अमलाचौरतर्फ फर्किने क्रममा दुर्घटनामा परेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । दुर्घटना कात्तिक ४ गते नै भएको हुन सक्ने प्रहरीको भनाइ छ ।

घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट प्रहरी नायब उपरीक्षक दिवसबहादुर जीसीको कमाण्डमा १० जनाको टोली खटिएको छ ।

घटनास्थलको कानुनी प्रक्रिया पूरा गरी दुवै जनाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सन्धिखर्क पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त मोटरसाइकल जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा राखिएको छ ।

Author

सम्बन्धित समाचार