मानव आवाज

२०८३ असोज २७ गते
00: 00: 00
२०८३ असोज २७ गते

असल छिमेकी सहकारीको साधारणसभा सम्पन्न

पोखरा । सहकारी संस्थालाई दिगो, प्रतिस्पर्धी र सदस्यप्रति उत्तरदायी बनाउन वित्तीय व्यवस्थापन, ऋण लगानी तथा असुली, ब्याजदर नीति र लगानी विस्तारमा समयानुकूल निर्णय लिनुपर्नेमा जोड दिइएको छ ।

सहकारीको उद्देश्य र सिद्धान्तअनुसार सञ्चालन, सञ्चालक समितिको जिम्मेवारी तथा कानुनी व्यवस्थाको नियमित समीक्षा र अनुगमनसँगै सदस्यहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका हुन् ।

पोखरा महानगरपालिका-१७, बिरौटास्थित असल छिमेकी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशन २०८३ असोज २६ गते पोखरामा सम्पन्न भएको छ ।

साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि तथा सहकारीका सल्लाहकार टोपराज ढुङ्गानाले सहकारी सञ्चालकहरूलाई संस्थाको उद्देश्य र सिद्धान्तअनुसार काम गर्न आग्रह गर्नुभयो ।

उहाँले नाफाभन्दा सेवामूलक कार्यलाई प्राथमिकता दिँदै विषम परिस्थितिमा समेत सुरक्षित रहेर सदस्यलाई सेवा प्रदान गर्न सफल भएको भन्दै संस्थाको प्रशंसा गर्नुभयो ।

सञ्चालक र सेयर सदस्यले आफ्नो जिम्मेवारीप्रति पर्याप्त ध्यान दिन नसक्दा सहकारीले क्षति बेहोर्नुपर्ने अवस्था आउन सक्ने उल्लेख गर्दै उहाँले संस्था र सदस्य दुवैलाई जिम्मेवार बन्न आग्रह गर्नुभयो ।

कार्यक्रममा गैरसरकारी संस्था महासङ्घ नेपालका निवर्तमान अध्यक्ष एवं वरिष्ठ अधिकारकर्मी रामप्रसाद सुवेदीले महिला तथा विपन्न वर्गलाई आर्थिक पहुँच उपलब्ध गराउँदै उद्यमशीलताको विकास गर्ने उद्देश्यले सहकारी स्थापना गरिएको बताउनुभयो ।

उहाँले बैंक तथा वित्तीय संस्थाको ब्याजदर र वित्तीय नीतिमा समयानुकूल परिवर्तन आवश्यक हुने उल्लेख गर्दै बजारको अवस्था र नियमनकारी निकायका नीतिभित्र रहेर सञ्चालक समितिले उपयुक्त निर्णय लिनुपर्ने बताउनुभयो ।

बजारको गतिशीलताअनुसार निर्णय लिन नसक्दा व्यवसाय तथा समग्र विकासको गतिमा असर पर्ने भन्दै समयअनुकूल लचकता र उचित निर्णयलाई प्रगतिको आधारका रूपमा लिनुपर्ने उहाँको भनाइ थियो ।

प्रतिवेदन तथा आगामी कार्यक्रम प्रस्तुत

साधारणसभामा सचिव तारादेवी सुवेदीले गत आर्थिक वर्षको कार्यप्रगति प्रतिवेदन, कोषाध्यक्ष कमलबहादुर पुनले आर्थिक वर्ष २०८२/८३ को आर्थिक प्रतिवेदन र लेखा संयोजक विजयप्रसाद आचार्यले लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

सभामा आर्थिक वर्ष २०८३/८४ को प्रस्तावित कार्यक्रम तथा अनुमानित आयव्यय, आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति, सदस्यका सुझाव तथा पृष्ठपोषण र विविध विषयमा छलफल गरिएको थियो ।

साधारणसभाका अवसरमा नयाँ थपिएका १५ जना सेयर सदस्यलाई सदस्यता प्रमाणपत्र वितरण गरिएको थियो ।

त्यस्तै, सहकारीमा असल कारोबार गर्ने कमरा घर्तीमगर, उत्कृष्ट कार्य गर्ने पूर्वव्यवस्थापक प्रतिभा लामिछाने र सहायक व्यवस्थापक जौमाया गुरुङ तथा ज्येष्ठ सदस्य सुकुली पोडेलाई सम्मान गरिएको थियो ।

विपन्न सदस्यलाई स्वास्थ्य उपचार सहयोग

सहकारीका संस्थापक अध्यक्ष स्वर्गीय खिममाया थापाको स्मृतिमा परिवारजन तथा सेयर सदस्यले स्थापना गरेको २ लाख रुपियाँको अक्षयकोषबाट प्राप्त ब्याज रकममध्ये १० हजार रुपियाँ विपन्न सदस्यको स्वास्थ्य उपचारका लागि सहयोग गरिएको छ ।

सामाजिक उत्तरदायित्वअन्तर्गत पोखरा महानगरपालिका-१७, रातोपैह्राकी मसिना सुनारलाई उक्त रकम हस्तान्तरण गरिएको संस्थाले जनाएको छ ।

संस्थाका अध्यक्ष रमानाथ आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष केशकुमारी भुजेलले स्वागत मन्तव्य र सचिव तारादेवी सुवेदीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

साधारणसभामा प्रस्तुत प्रतिवेदन, रणनीतिक योजना तथा प्रस्तावित कार्यक्रम सुझावसहित सर्वसम्मत रूपमा पारित गरिएको कोषाध्यक्ष कमलबहादुर पुनले जानकारी दिनुभयो ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार