हेटौँडा । बकैया गाउँपालिका-१० मा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको अम्बासगढीमा असोज २५ गते नेपालको विशाल राष्ट्रिय झण्डा स्थापना गरिएको छ । युवा एकता समाज मन्थलीको संयुक्त पहल तथा स्थानीयवासीको सक्रियतामा झण्डा स्थापना गरिएको हो ।
झण्डा स्थापना कार्यक्रमको उद्घाटन बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले झण्डाको डोरी तानेर गर्नुभएको थियो ।
कार्यक्रममा बकैया गाउँपालिका-१० की वडाध्यक्ष कमला वाइबा, बकैया खेलकुद समितिका संयोजक विजय लामा, बकैया दर्पणका सञ्चालक युवराज थिङलगायतको उपस्थिति थियो ।
अम्बासगढीको ऐतिहासिक पहिचान संरक्षण, सौन्दर्यीकरण तथा धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्त्वको प्रवर्द्धन गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको स्थानीय सोमराज भोलनले जानकारी दिनुभयो ।
हाल अम्बासगढी परिसरमा रङरोगन गर्ने, लुङ्दा लगाउनेलगायतका काममार्फत गढीलाई थप आकर्षक बनाउने प्रयास भइरहेको छ । स्थानीयवासीको श्रम, सहभागिता र सामूहिक सहयोगमा संरक्षण तथा सौन्दर्यीकरणका काम अघि बढाइएको हो ।
स्थानीयवासीको सक्रियतामा सञ्चालित यस अभियानले अम्बासगढीको ऐतिहासिक पहिचान जोगाउनुका साथै धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखेको छ । यसले सार्वजनिक सम्पदाको संरक्षणमा सामुदायिक सहभागिताको महत्त्वसमेत उजागर गरेको छ ।