काठमाडौँ । बेलायतस्थित बकिङ्घम शायर नेपाली समाजले नेपाली चर्चित हास्यव्यङ्ग्यकार शैलेन्द्र सिम्खडा र उहाँकी पत्नी सुधा सिम्खडालाई विशेष सम्मान प्रदान गरेको छ ।
बडादशैँ २०८३ को शुभकामना आदानप्रदान तथा भोटेकोशी बाढीपीडितको सहयोगार्थ आयोजित विशेष कार्यक्रममा सिम्खडा दम्पतीलाई सम्मान गरिएको समाजका संयोजक राजेश काफ्लेले जानकारी दनुभएको छ ।
नेपाली हास्यव्यङ्ग्य साहित्य तथा कलाको क्षेत्रमा शैलेन्द्र सिम्खडाले पुर्याउनुभएको योगदानको कदर गर्दै दम्पतिलाई सम्मान गरिएको बताइएको छ ।
कार्यक्रममा सिम्खडाले बडादशैँको शुभकामना व्यक्त गर्दै आफ्ना चर्चित हास्यव्यङ्ग्य प्रस्तुति र ठट्यौलीमार्फत सहभागीलाई मनोरञ्जन प्रदान गर्नुभएको थियो । उहाँको प्रस्तुतिले कार्यक्रमलाई थप रोचक र मनोरञ्जनात्मक बनाएको थियो ।
दशैँको अवसरमा आयोजित कार्यक्रममा शुभकामना आदानप्रदानसँगै भोटेकोशी बाढीपीडितलाई सहयोग गर्ने उद्देश्यसमेत राखिएको आयोजकले जनाएको छ ।
कार्यक्रमले बेलायतमा रहेका नेपाली समुदायबिच आपसी एकता, सद्भाव र आत्मीयता अभिवृद्धि गर्नुका साथै नेपाली कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्धनमा योगदान पुर्याएको आयोजकले जनाएको छ ।