मानव आवाज

२०८३ असोज २८ गते
00: 00: 00
२०८३ असोज २८ गते

दशैँका ती सुनौला दिनदेखि आजको विपत्तिसम्म

बिमला देवकोटा आचार्य

भदौ महिना ! पछिल्ला वर्षहरूमा यो महिना नेपाली जनजीवनका लागि कुनै अभिशाप बनेर आएजस्तो लाग्न थालेको छ। देशले राजनीतिक उथलपुथल, ऐतिहासिक भवनहरूको विनाश र प्राकृतिक विपत्तिका अनेकौँ चोट सहँदै आएको छ। भोटेकोशीको बाढीले निम्त्याएको विनाशको पीडा सेलाउन नपाउँदै घटस्थापनाकै दिन बुढीगण्डकीमा आएको बाढीको खबरले मन झन् भारी बनायो।

दशैँ नेपालीका लागि चाड मात्रै होइन घर फर्किने, परिवारसँग भेटिने, आशीर्वाद लिने र वर्षभरिका थकान बिर्सेर आत्मीयता साट्ने अवसर हो । तर, यही चाडको मुखमा आइपरेको विपत्तिले कति परिवारको खुसी खोस्यो होला ! कति आमाबाबु आफ्ना सन्तानको प्रतीक्षामा होलान्, कति बालबालिका प्रियजनको बाटो कुरिरहेका होलान् ! यस्तै प्रश्नहरूले मन छोइरहँदा म आफ्नै बाल्यकालका दशैँ सम्झिन पुग्छु ।

बाबाको औँला समातेर फूलपाती हेरेका दिन

बाल्यकालको दशैँ सम्झिँदा सबैभन्दा पहिले फोहरा दरबारको स्मृति आउँछ । बाबा त्यहाँ पण्डित हुनुहुन्थ्यो । घटस्थापनादेखि विजयादशमीसम्म हामी पनि बाबासँगै कुमारी पूजा गर्न त्यहाँ पुग्थ्यौँ । बाबाको औँला समातेर फूलपाती हेर्न गएको त्यो दृश्य आज पनि मनमा ताजै छ । त्यो औँलामा बाबाको हात मात्र थिएन, मेरो बाल्यकालको सुरक्षा, विश्वास र निश्चिन्त संसार पनि अडिएको थियो । विजयादशमीका दिन बाबासँगै गाडीमा घर फर्किन्थ्यौँ । राणाजीहरूलाई टीका, जमरा र प्रसाद दिएर मध्याह्नतिर घर आइपुग्दा हाम्रो ठूलो आँगन आफन्तहरूले भरिएको हुन्थ्यो । टीकाटालो, आशीर्वाद र सामूहिक भोजनले घरलाई उत्सवमय बनाउँथ्यो । त्यसबेला दशैँ कुनै एउटा परिवारको खुसीमा मात्र सीमित थिएन । हाम्रो आँगन नै गाउँको साझा खुसीको चौतारी बन्थ्यो ।

दशैँसँग जोडिएको अर्को प्रिय सम्झना थियो-दुई ओटा मामाघरको यात्रा । आमाको जन्मघर भएकाले हाम्रा लागि दुवै मामाघर उत्तिकै आत्मीय थिए । काठमाडौँको मूलपानीमा रहेको खनाल मामाघरलाई हामी ‘सहरको मामाघर’ भन्थ्यौँ भने धादिङको तत्कालीन छत्रे देउरालीमा रहेको सिम्खडा मामाघरलाई ‘वनको मामाघर’ । वनको मामाघर पुग्न नागार्जुनको जङ्गल पार गरेर करिब डेढ घण्टा पैदल हिँड्नुपर्थ्यो । त्यही यात्राले मामाघर पुग्ने उत्सुकतालाई अझ रोमाञ्चक बनाउँथ्यो । विजयादशमीमा मूलपानी र द्वादशीमा छत्रे देउराली जाने हाम्रो चलन थियो । दुवै ठाउँमा पाइने माया, सत्कार र आफन्तसँगको भेटघाटले दशैँलाई पूर्ण बनाउँथ्यो । मामाघर जानुअघि घरका गाईवस्तुका लागि घाँसपात र परालको व्यवस्था गर्नुपर्थ्यो । बाल्यकालमा ती जिम्मेवारीभन्दा यात्राको रमाइलो ठूलो लाग्थ्यो । आज फर्केर हेर्दा बुझ्छु-ती यात्रा चाड मनाउने अवसर मात्र थिएनन् । पुस्तौँदेखि जोडिएका सम्बन्ध, पारिवारिक आत्मीयता र सामाजिक सामीप्यलाई निरन्तरता दिने माध्यम पनि थिए ।

उमेरसँगै फेरिएको दशैँको अर्थ

बाल्यकालमा दशैँ भनेको नयाँ लुगा, मीठो खाना, टीका, जमरा, दक्षिणा र मामाघरको रमाइलो थियो । बाबाआमाले ती खुसी जुटाउन गर्नुभएको परिश्रम र त्यागको अर्थ त्यतिबेला बुझिएन । उमेर बढ्दै जाँदा मात्र थाहा भयो-हाम्रा ससाना खुसीका पछाडि उहाँहरूको कति मिहिनेत, कति त्याग र कति निःस्वार्थ प्रेम लुकेको रहेछ । विवाहपछि आफ्ना दुई छोरालाई कुमारी पूजा गराउन फोहरा दरबार लैजाँदा बाल्यकालका स्मृति फेरि ताजा भएका थिए । स्थान उही थियो । समय भने बदलिइसकेको थियो । पूजा गर्ने पुस्ता फेरिएको थियो । वातावरण बदलिएको थियो र अनुभूतिसमेत पहिलेको जस्तो थिएन । आफ्ना सन्तानलाई आफूले बाल्यकालमा पाएको खुसी दिन चाहे पनि समयलाई फर्काउन नसकिने रहेछ । जीवनको एउटा पुस्ताले सम्झनामा साँचेर राखेको खुसी अर्को पुस्तामा हस्तान्तरण गर्न त सकिन्छ, तर त्यो समय र अनुभूति जस्ताको तस्तै दोहोर्‍याउन सकिँदैन ।

विवाहले दशैँसँग जोडिएको अर्को अनुभव पनि दियो । मेरो जन्मघरमा माछामासु, लसुन, प्याज, गोलभेँडा र मुसुरोको दाललगायत केही खानेकुरा वर्जित थिए । गोरखास्थित कर्मघरमा भने ती खानेकुरा सामान्य थिए । सुरुमा अनौठो लागे पनि बिस्तारै बुझ्दै गएँ-संस्कार र परम्परा परिवार तथा सामाजिक परिवेशअनुसार फरक हुँदा रहेछन् । तर, यस अनुभवले मनमा एउटा प्रश्न पनि जन्मायो-विवाहपछि महिलाले नै आफ्नो घर, संस्कार र जीवनशैलीको ठूलो हिस्सा परिवर्तन गर्नुपर्ने अपेक्षा किन गरिन्छ ? सम्बन्ध जोगाउन र नयाँ परिवेशमा घुलमिल हुन महिलाले गर्ने समायोजन र सम्झौताहरू सधैँ समान रूपमा बाँडिएका हुँदैनन् । परिवार र सम्बन्धलाई निरन्तरता दिन महिलाले गर्ने त्यागलाई सहज कर्तव्यका रूपमा लिने सामाजिक सोच पनि यससँग जोडिएको छ ।

आज आधा शताब्दीको जीवनयात्रातिर फर्केर हेर्दा दशैँ मेरा लागि उत्सव र पारिवारिक परम्पराको स्मृति मात्र रहेन । यो महिला जीवनका जिम्मेवारी, अनुकूलन र मौन त्यागलाई बुझ्ने एउटा ऐना पनि बनेको छ ।

स्मृतिको उज्यालो र वर्तमानको पीडा

आज बाबाआमा साथमा हुनुहुन्न । छोराहरू आफ्नै जीवनयात्रामा छन् । कुनै समय एउटै आँगनमा भेला भएर टीका लगाउने परिवारका सदस्यहरू अहिले आआफ्ना जिम्मेवारी र भूगोलमा बाँडिएका छन् । बाबाको औँला समातेर फूलपाती हेर्ने ती दिन अब स्मृतिमा मात्र जीवित छन् । जीवनको विडम्बना पनि कस्तो ! बाल्यकालमा पाएको खुसीको वास्तविक मूल्य बुझ्ने उमेरमा पुग्दा त्यही खुसी दिने मानिसहरू र परिस्थिति पहिलेझैँ साथमा हुँदैनन् । समयले मानिस, परिवेश र पुस्ता बदल्छ तर केही स्मृतिहरू जीवनभर मनभित्र उज्यालो बनेर रहन्छन् । तिनै स्मृतिले विगतसँग जोडिरहन्छन् र वर्तमानका रिक्तताबिच पनि जीवनलाई अर्थ दिइरहन्छन् ।

यस वर्ष ती स्मृतिका बिच देशको पीडाले पनि मनलाई उत्तिकै छोएको छ । म बाबाको हात समातेर दशैँ मनाएका दिन सम्झिरहेकी छु तर कति बालबालिकाले यस वर्ष आफ्ना अभिभावकसँग टीका लगाउन नपाउने होलान् ? कति आमाबाबु आफ्ना सन्तानको खबर कुरिरहेका होलान् ? घर फर्किने यात्रामा प्रियजन गुमाएका परिवारका लागि टीका, जमरा र नयाँ लुगाभन्दा पनि हराएका आफन्तको कुशलताको खबर ठूलो भएको छ । चाडपर्वको खुसी पर्खिरहेका आँखामा अहिले अनिश्चितता र पीडाको छाया परेको छ ।

विपत्तिले भौतिक संरचना मात्र भत्काउँदैन यसले सपना, भरोसा र भविष्यका योजनासमेत भत्काउँछ । यसले परिवारलाई बिछोडको पीडा दिन्छ । बालबालिकाबाट अभिभावकको साथ खोस्छ र मानिसको जीवनभरका लागि नमेटिने घाउ छोड्छ । त्यसैले पीडित परिवारप्रति सहानुभूति प्रकट गर्नु मात्र पर्याप्त हुँदैन । बेपत्ताको खोजी, पीडितको उद्धार, प्रभावितको पुनःस्थापना र दीर्घकालीन सहयोगमा राज्य र समाज दुवै जिम्मेवार हुनुपर्छ ।

प्रभावकारी पूर्वसूचना प्रणाली, सुरक्षित यातायात, वैज्ञानिक योजना र उत्तरदायी विपद् व्यवस्थापनमार्फत प्राकृतिक प्रकोपबाट हुने क्षति कम गर्न सकिन्छ । विपत्ति सधैँ रोक्न नसकिए पनि समयमै सावधानी अपनाएर त्यसबाट हुने मानवीय क्षति न्यूनीकरण गर्न सकिन्छ । नागरिकको जीवन र सुरक्षा राज्यको सर्वोच्च प्राथमिकता हुनुपर्छ । विपत्तिपछिको उद्धार र राहतसँगै भविष्यमा यस्ता पीडा दोहोरिन नदिन आवश्यक तयारी र जबाफदेहितासमेत उत्तिकै महत्त्वपूर्ण छन् ।

दशैँको वास्तविक आशीर्वाद

समयसँगै दशैँको अर्थ पनि बदलिँदो रहेछ । बाल्यकालमा यो उत्सव थियो । युवावस्थामा जिम्मेवारी र परम्परा निर्वाह गर्ने अवसर बन्यो । आफ्ना सन्तान हुर्काउँदा उनीहरूलाई खुसी दिने माध्यम बन्यो । आज भने यो विगतको आत्मीयता सम्झिने, जीवनको क्षणभङ्गुरता बुझ्ने र अरूको पीडासँग आफ्नो संवेदना जोड्ने अवसर बनेको छ । मेरा बाल्यकालका दशैँ फर्केर आउने छैनन् । बाबाआमाको हातबाट टीका लगाउने र बाबाको औँला समातेर फूलपाती हेर्ने दिन पनि अब सम्झनामा मात्र सीमित छन् । तर, उहाँहरूले दिनुभएको माया, संस्कार र आत्मीयताको उज्यालो मभित्रै छ । जीवनमा मानिसहरू टाढिन सक्छन् । समय बदलिन सक्छ र परिस्थिति फेरिन सक्छ । तर, प्रेमले छोडेका छापहरू स्मृतिमा सधैँ जीवित रहँदा रहेछन् ।

त्यही उज्यालो बोकेर म यस वर्ष विपत्तिमा परेका सबै परिवारप्रति हार्दिक संवेदना व्यक्त गर्न चाहन्छु । कुनै पनि आमाले दशैँका दिन आफ्ना सन्तानको खबर नपाएर आँसु झार्न नपरोस्, कुनै पनि बालबालिकाले चाडपर्वकै दिन अभिभावकको साथ गुमाउन नपरोस् र कुनै पनि परिवारले घर फर्किने बाटोमा प्रियजन गुमाउन नपरोस् । जीवन स्मृति र समयबीचको यात्रा रहेछ-विगतले जरा दिन्छ, वर्तमानले यथार्थसँग साक्षात्कार गराउँछ र भविष्यले आशा गर्न सिकाउँछ । दशैँका रङहरू फेरिन सक्छन्, सम्बन्ध र परिवेश बदलिन सक्छन् तर मानवीय संवेदना कहिल्यै मर्नु हुँदैन । अरूको दुःखलाई आफ्नो दुःख ठान्ने र पीडामा परेकालाई साथ दिने भावना नै चाडपर्वको आत्मीयतालाई जीवन्त बनाउने आधार हो ।

यस वर्ष मेरो प्रार्थना छ-विपत्तिमा परेका परिवारले फेरि सुरक्षित जीवन पाऊन् । बिछोडिएका आफन्तको खोजी र उद्धार सफल होस् र आगामी दशैँ प्रत्येक नेपालीका लागि शान्ति, सुरक्षा र आत्मीय पुनर्मिलनको पर्व बनोस् । किनकि दशैँको सबैभन्दा ठूलो आशीर्वाद टीका र जमरा मात्र होइन-आफ्ना प्रियजनसँग सुरक्षित भएर बाँच्न पाउनु हो ।

(बिमला प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, सानोठिमी भक्तपुरमा कार्यरत हुनुहुन्छ ।)

देवकोटाका प्रकाशित अन्य सामग्रीहरू

अस्पतालमा भेटिएका भगवान् !
एउटा पुस्तक, पाँच घण्टा र जीवनभरको स्मृति
जीवनको मूल्य र पीडाको अदृश्य अनुहार

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार