ललितपुर । ललितपुरको गोदावरी नगरपालिका-१० चापागाउँस्थित झ्यालुङ्टार मिनी रङ्गशालामा आयोजित ‘गोदावरी चापागाउँ दशैँ सस्तो बजार महोत्सव-२०८३’ १२ दिनसम्म किनमेल, सांस्कृतिक प्रस्तुति र मनोरञ्जनको उत्सव बनेर सम्पन्न गरिएको छ ।
दशैँको किनमेलसँगै राष्ट्रिय तथा स्थानीय कलाकारका साङ्गीतिक प्रस्तुतिले झ्यालुङ्टारलाई उत्सवमय बनाएको महोत्सवको अन्तिम दिन कात्तिक १ गते गायिका ज्योति मगर र रचना रिमालका प्रस्तुतिले विशेष रौनक थपेका थिए ।
लिनियर मिडिया प्रालि तथा औद्योगिक शान्ति नेपाल संस्थाको आयोजनामा २०८३ असोज २१ गतेदेखि २०८३ कात्तिक १ गतेसम्म सञ्चालन भएको महोत्सवले व्यापार, स्थानीय उत्पादनको प्रवर्धन र सांस्कृतिक मनोरञ्जनलाई एउटै थलोमा जोडेको कार्यक्रम संयोजक सुवास महतले बताउनुभयो ।
महोत्सवको अन्तिम दिन गायिका ज्योति मगरले आफ्ना सांगीतिक प्रस्तुतिमार्फत दर्शकलाई नचाउँदै रङ्गशालाको माहोल तताउनुभएको थियो ।
उहाँका प्रस्तुतिमा दर्शकले उत्साहपूर्वक साथ दिएका थिए । त्यस्तै, गायिका रचना रिमालले मधुर स्वर र शान्त शैलीमा गीत प्रस्तुत गर्दै दर्शकलाई साङ्गीतिक आनन्द प्रदान गर्नुभएको राष्ट्रिय सङ्गीतकर्मी सङ्घ ललितपुरकी अध्यक्ष सविना दाहालले बताउनुभयो ।
महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारका प्रस्तुतिले दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । साङ्गीतिक कार्यक्रमसँगै महोत्सवस्थलमा दशैँको किनमेल गर्ने उपभोक्ता र मनोरञ्जन लिन आउने सर्वसाधारणको चहलपहल रहेको स्थानीयले बताएका छन् ।
दशैँका लागि आवश्यक सामग्री सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको महोत्सवमा लत्ताकपडा, जुत्ताचप्पल, घरायसी सामग्री तथा दैनिक उपभोग्य वस्तुको प्रदर्शनी र बिक्री गरिएको थियो ।
उपभोक्तालाई एउटै स्थानबाट विभिन्न सामग्री खरिद गर्ने सुविधा उपलब्ध गराउनुका साथै स्थानीय व्यवसायीलाई आफ्ना उत्पादन तथा सामग्रीको बजार विस्तार गर्ने अवसरसमेत प्रदान गरिएको थियो ।
महोत्सवमा नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सुपथ मूल्य पसलसमेत सञ्चालन गर्ने योजना आयोजकले अघि सारेको थियो ।
स्थानीय उत्पादन तथा व्यापारिक सामग्रीलाई प्राथमिकता दिँदै आयोजना गरिएको महोत्सवले चापागाउँ क्षेत्रको व्यापारिक गतिविधिलाई चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको थियो ।
किनमेल र सांगीतिक कार्यक्रमसँगै बालबालिकाका लागि विभिन्न खेलसहितको बाल उद्यान सञ्चालन गरिएको थियो ।
स्थानीय प्रतिभाको पहिचान र प्रोत्साहनका लागि खुला नृत्य प्रतियोगितासमेत आयोजना गरिएको थियो । यसले महोत्सवलाई व्यापारिक गतिविधिमा मात्र सीमित नराखी पारिवारिक मनोरञ्जन र प्रतिभा प्रदर्शनको साझा मञ्चका रूपमा स्थापित गर्ने प्रयास गरेको थियो ।
गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले उद्घाटन गर्नुभएको महोत्सवको समापन बागमती प्रदेशका पूर्वखेलकुदमन्त्री एवम् प्रदेशसभा सदस्य मीनकृष्ण महर्जनले गर्नुभएको थियो ।
१२ दिनसम्म चलेको महोत्सवले दशैँको किनमेल, स्थानीय व्यापारको प्रवर्धन र सांस्कृतिक मनोरञ्जनलाई एकै ठाउँमा समेट्दै चापागाउँ क्षेत्रको चाडपर्वको रौनक बढाएको थियो ।
कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष परोक्ष सहयोग गर्नेहरूलाई समापनका अवसरमा सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो भने प्रस्तुति दिने कलाकारलाई उचित पारिश्रमिकसहित मायाको चिनो प्रदान गरिएको थियो ।