मानव आवाज

२०८३ असार १६ गते
00: 00: 00
२०८३ असार १६ गते

सिन्धुली आयुर्वेद चिकित्सालयबाट एक वर्षमा ५३ हजारभन्दा बढीले लिए सेवा

सिन्धुली । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सिन्धुलीबाट आर्थिक वर्ष २०८२/०८३ मा ५३ हजार ३ सय ८१ जनाले स्वास्थ्य सेवा लिएका छन् ।

जिल्लाका सञ्चारकर्मीसँग २०८३ असार १४ गते आयोजित आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवासम्बन्धी अन्तरक्रिया कार्यक्रममा निमित्त कार्यालय प्रमुख दीपकराज तिमल्सिनाले अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा ४६ हजार २ सय ६ जना तथा २०८०/०८१ मा ४२ हजार ८ सय ५६ जनाले सेवा लिएको जानकारी दिँदै सेवाग्राहीको सङ्ख्या निरन्तर बढिरहेको बताउनुभयो ।

उहाँले चालु आर्थिक वर्षमा कार्यालयबाट सञ्चालन भएका कार्यक्रम तथा प्रवाह गरिएका सेवाबारे जानकारी गराउँदै भवन अभावका कारण सेवा विस्तारमा केही कठिनाइ भइरहेको उल्लेख गर्नुभयो ।

तिमल्सिनाले आगामी आर्थिक वर्षका लागि सुविधा सम्पन्न नयाँ भवन निर्माण गर्न बजेट विनियोजन भइसकेकाले सेवा थप प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति सिन्धुलीकी उपप्रमुख शान्ता कार्कीले स्वस्थ जीवनका लागि पोषणयुक्त र स्वास्थ्यवर्द्धक खानपानमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

जीवनशैली सुधारसँगै आयुर्वेदिक उपचार पद्धतिले रोगको रोकथाम तथा स्वास्थ्य प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै उहाँले स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन केन्द्रदेखि स्थानीय तहसम्मका सरकारले पर्याप्त बजेट व्यवस्था गर्नुपर्ने धारणा राख्नुभयो ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर खड्काले अस्पतालमा पायल्स, फिसर र फिस्टुलाजस्ता रोगको विशेषज्ञ सेवा सुलभ शुल्कमा उपलब्ध भए पनि त्यसबारे धेरै नागरिकलाई जानकारी नपुगेको बताउनुभयो ।

उहाँले सञ्चारमाध्यममार्फत आयुर्वेदिक सेवाबारे व्यापक सूचना प्रवाह गरी जिल्लावासीलाई सहज र सस्तो उपचार सेवाको पहुँचमा पुर्‍याउन सहयोग गर्न आग्रह गर्नुभयो ।

जानकारीको अभावमा धेरै बिरामी अन्यत्र महङ्गो खर्च गरेर उपचार गराउन बाध्य भइरहेको उहाँको भनाइ थियो ।

Author

Share the News

Recent News

Related News