सिन्धुली । जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुलीलाई विपद्का समयमा खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन करिब १० लाख रुपियाँ बराबरका उद्धार सामग्री हस्तान्तरण गरिएको छ ।
प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा ह्यान्ड्स नेपाल सिन्धुलीको आयोजनामा २०८३ असार ३० गते समितिलाई ९ लाख ९७ हजार ७ सय ९० रुपियाँ मूल्य बराबरका उद्धार सामग्री हस्तान्तरण गरिएको हो ।
हस्तान्तरण गरिएका सामग्रीमा १२ सिट क्षमताको एक थान र्याफ्ट बोट, एक थान विद्युतीय र्याफ्ट पम्प तथा खोज तथा उद्धार कार्यमा प्रयोग हुने ५ मिलिमिटरभन्दा माथिको एक सेट वेटसुट रहेका छन् ।
सामग्री हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष इस्किम श्रेष्ठले प्राप्त सामग्री आवश्यकताअनुसार खोज तथा उद्धार टोलीमार्फत परिचालन गरिने बताउनुभयो ।
उहाँले बाढी, पहिरो, चट्टान खस्ने, भूकम्प तथा नदी–खोलामा आउने बाढीका कारण जोखिममा परेका नागरिकको उद्धारमा यी सामग्री प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।
आपत्कालीन उद्धार कार्यलाई अझ छिटो, सुरक्षित र प्रभावकारी बनाउन सामग्रीले महत्वपूर्ण योगदान पुर्याउने उहाँको भनाइ थियो ।
ह्यान्ड्स नेपाल सिन्धुलीका अध्यक्ष बासुदेव अधिकारीले मनसुन सक्रिय भएसँगै बाढी, पहिरो, डुबानलगायत पानीजन्य विपद्का घटना बढ्ने सम्भावनालाई मध्यनजर गर्दै खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सामग्री उपलब्ध गराइएको जानकारी दिनुभयो ।