सिन्धुली । मरिण गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको गाउँपालिका घोषणा गरिएको छ ।
पूर्ण खोप सुनिश्चितता एवम् दिगोपना घोषणाका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पूरा भएपछि स्वास्थ्य शाखा प्रमुख मधु लाखेको प्रस्ताव तथा गाउँपालिकाकी उपाध्यक्ष बिमला माझीको समर्थनमा गाउँपालिका अध्यक्ष एवम् खोप समन्वय समितिका संयोजक विमर्श मुक्तानले आयोजित कार्यक्रममा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको घोषणा गर्नुभएको हो ।
कार्यक्रममा जिल्ला खोप समन्वय समितिका सदस्य सचिव तथा जनस्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख बिमल पटेलले गाउँपालिका अध्यक्ष मुक्तानलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनासम्बन्धी प्रमाणपत्र प्रदान गर्नुभयो ।
यसैगरी, सबै वडाका स्वास्थ्य संस्था तथा वडा खोप समन्वय समितिलाई वडा पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।
घोषणालाई सहजीकरण तथा सहयोग पुर्याउने जिल्ला खोप समन्वय समितिलाई पनि प्रशंसापत्र प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।
१६ देखि २३ महिनासम्मका सबै बालबालिकाले उमेरअनुसार लगाउनुपर्ने सम्पूर्ण खोप लगाएको सुनिश्चित भएपछि गाउँपालिका पूर्ण खोप सुनिश्चित भएको मानिन्छ ।
मरिण गाउँपालिकाले आर्थिक वर्ष २०७३/०७४ देखि नियमित रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष विमर्श मुक्तानले जनसहभागिताको आधारमा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता गर्न सफल भएको बताउनुभयो ।
उहाँले गाउँपालिका क्षेत्रका बालबालिकाले लक्ष्यअनुसार पूर्ण खोप प्राप्त गरेको जानकारी दिनुभयो ।
कार्यक्रममा इलाका प्रहरी कार्यालयका प्रमुख अशोककुमार यादव, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, सङ्घसंस्थाका प्रतिनिधिहरू, स्वास्थ्यकर्मी, गाउँपालिकाका शाखा प्रमुख तथा महिला स्वास्थ्य स्वयम्सेविकालगायतको उपस्थिति रहेको थियो ।