मानव आवाज

२०८३ श्रावण २६ गते
00: 00: 00
२०८३ श्रावण २६ गते

पहिरो पन्छाएपछि मदन भण्डारी राजमार्ग सुचारु

सिन्धुली वर्षाका कारण पहिरो खसेर अवरुद्ध बनेको मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुली-हेटौँडा सडकखण्ड सुचारु भएको छ ।

राजमार्गअन्तर्गत हरिहरपुरगढी गाउँपालिका-४ हाकपारा तथा हरिहरपुरगढी-५ र मरिण गाउँपालिका-२ को सीमाना सिमरास पाखामा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो। हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइवाले पहिरोका कारण सडक अवरुद्ध भएको जानकारी दिनुभयो ।

सडक विभाग, मरिण गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका तथा निजी क्षेत्रका जेसीबी प्रयोग गरी पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको गाउँपालिकाले जनाएको छ ।

२०८३ साउन २५ गते बिहान ६ बजेदेखि करिब चारदेखि पाँच घण्टासम्म जनप्रतिनिधि, प्रहरी प्रशासन, सुरक्षा निकाय तथा स्थानीयवासीको सक्रियतामा पहिरो पन्छाउने काम गरिएको थियो ।

सडक खुलाउन मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तानसहित स्थानीय जनप्रतिनिधि तथा सुरक्षा निकायका प्रतिनिधि खटिएका थिए ।

सडक अवरुद्ध भएपछि बाटोमै रोकिएका सवारीसाधन तथा यात्रुहरू सडक सुचारु भएसँगै आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् ।

वर्षाका कारण राजमार्गका विभिन्न स्थानमा पुनः पहिरो खस्न सक्ने सम्भावना रहेकाले यात्रा गर्दा सावधानी अपनाउन अध्यक्ष मोक्तानले आग्रह गर्नुभएको छ ।

विपद्का समयमा हुन सक्ने जनधनको क्षति न्यूनीकरणका लागि पूर्वतयारी, आपसी सहकार्य र समन्वय आवश्यक रहेको उहाँले बताउनुभयो ।

Author

Share the News

Recent News

Related News