सिन्धुली । मरिण गाउँपालिकाले स्थानीयस्तरबाटै मालपोत तथा नापीसम्बन्धी सेवा प्रवाह सुरु गरेको छ ।
गाउँपालिकाको कार्यालय कपिलाकोट छापबाट २०८३ भदौ १ गतेदेखि मालपोत र नापीसम्बन्धी सेवा सञ्चालनमा ल्याइएको हो ।
गाउँपालिकाका अध्यक्ष विमर्श मुक्तान (प्रख्यात) ले मालपोत प्रशासन तथा नापी शाखाको उद्घाटन गर्दै सेवा प्रवाहको शुभारम्भ गर्नुभएको हो ।
सेवा शुभारम्भ कार्यक्रममा अध्यक्ष मुक्तानले लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि नेपालको संविधानले स्थानीय तहलाई दिएको अधिकारको सदुपयोग गर्दै लामो समयपछि स्थानीयस्तरबाटै मालपोत तथा नापीसम्बन्धी सेवा सुरु गरिएको बताउनुभयो ।
उहाँले नागरिकले सामान्य कामका लागि समेत जिल्ला सदरमुकामसम्म पुगेर दुःख, झन्झट र अतिरिक्त खर्च व्यहोर्नुपर्ने अवस्थाको अन्त्य गर्ने उद्देश्यले गाउँपालिकाबाटै सेवा सुरु गरिएको बताउनुभयो ।
स्थानीयस्तरबाट सेवा उपलब्ध भएपछि नागरिकका आकाङ्क्षा, समस्या तथा गुनासालाई गाउँपालिकामार्फत सहज रूपमा सम्बोधन गर्न सकिने उहाँको भनाइ थियो ।
अध्यक्ष मुक्तानका अनुसार मालपोत तथा नापी कार्यालयबाट दैनिक रूपमा सेवाग्राहीले लिँदै आएका करिब ९० प्रतिशत सेवा अब गाउँपालिकाबाटै उपलब्ध हुनेछन् ।
जग्गा पास, नक्सा प्रिन्ट, जग्गा बैंक रोक्का तथा फुकुवा, लिखत पारित, अंशबन्डा तथा जग्गाको स्वामित्व हस्तान्तरणसम्बन्धी कामसमेत स्थानीयस्तरबाटै हुने उहाँले जानकारी दिनुभयो ।

गाउँपालिकाका उपाध्यक्ष बिमला माझीले जग्गा किनबेचसम्बन्धी राजीनामा, कित्ताकाट तथा रेखाङ्कनलगायतका सेवासमेत गाउँपालिकाबाटै उपलब्ध हुने बताउनुभयो ।
मालपोत र नापीसम्बन्धी सेवा स्थानीयस्तरबाटै सुरु भएपछि यसअघि सेवा लिन जिल्ला सदरमुकाम सिन्धुलीमाढीस्थित सम्बन्धित कार्यालयमा पुग्नुपर्ने नागरिकको बाध्यता हटेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठले स्थानीय तहबाटै सेवा उपलब्ध हुन थालेपछि सेवाग्राहीको समय र खर्च दुवै बचत हुने अपेक्षा गरिएको बताउनुभयो ।
नेपाल सरकारले मालपोत तथा नापीसम्बन्धी नियमावलीमार्फत केही अधिकार स्थानीय तहलाई प्रत्यायोजन गरेपछि मरिण गाउँपालिकाले आवश्यक प्रक्रिया पूरा गरी सेवा सुरु गरेको उहाँको भनाइ छ ।
सेवा शुभारम्भ कार्यक्रममा मालपोत तथा नापी कार्यालयका कर्मचारी, गाउँपालिकाका सात ओटै वडाका वडाध्यक्ष तथा सदस्य, कार्यपालिका सदस्य, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि र गाउँपालिकाका कर्मचारीलगायतको सहभागिता रहेको थियो ।