सिन्धुली । कमलामाई नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको स्थानीय तह घोषणा गरिएको छ ।
नगरपालिकाभित्रका १६ देखि ५९ महिनासम्मका सबै बालबालिकाले १५ महिनाको उमेरभित्र राष्ट्रिय खोप तालिकाअनुसार पाउनुपर्ने सम्पूर्ण खोप प्राप्त गरेको सुनिश्चित भएपछि एक कार्यक्रमबीच उक्त घोषणा गरिएको हो ।
बालबालिकाको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै गरिएको घोषणासँगै आगामी दिनमा पनि कुनै बालबालिका खोप सेवाबाट वञ्चित नहोस् भन्ने उद्देश्यका साथ खोप कार्यक्रमको दिगोपनामा विशेष जोड दिइएको नगरपालिकाले जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख उपेन्द्रकुमार पोखरेलले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा नगरवासीका लागि गौरवको विषय भएको बताउनुभयो ।
उहाँले बालबालिकाको स्वास्थ्य नै नगरको सुरक्षित भविष्य भएको उल्लेख गर्दै अभियानलाई सफल बनाउन योगदान पुर्याउने स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम्सेविका तथा सम्पूर्ण नगरवासीप्रति आभार व्यक्त गर्नुभयो ।
उहाँले घोषणा गर्नु मात्रै पर्याप्त नभएको उल्लेख गर्दै यसको निरन्तरता र दिगोपनाका लागि नगरपालिका सधैँ प्रतिबद्ध रहने बताउनुभयो ।
कार्यक्रममा प्रस्तुत प्रतिबद्धतापत्रमा नगरभित्रका कुनै पनि बालबालिका जुनसुकै अवस्था वा परिस्थितिमा पनि खोप सेवाबाट वञ्चित हुन नदिने प्रतिबद्धता जनाउँदै उपस्थित जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूले सामूहिक हस्ताक्षर गरेका थिए ।
यस अवसरमा नगरपालिकाभित्र खोपको पहुँच विस्तार, छुटेका बालबालिकाको पहिचान तथा नियमित अनुगमनलाई अझ प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको थियो ।
कमलामाई नगरपालिकाले आगामी दिनमा पनि खोप सेवाको गुणस्तर सुधार गर्दै सबै बालबालिकाको स्वास्थ्य अधिकार सुनिश्चित गर्न आवश्यक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।