सिन्धुली । गोलञ्जोर गाउँपालिका–७ खुर्कोटस्थित सुनकोशी नदी पुल क्षेत्रमा बुधबार संयुक्त विपद् प्रतिकार्य सिमुलेशन अभ्यास “मनसुन–६” सम्पन्न गरिएको छ ।
मनसुनजन्य विपद्को जोखिम न्यूनीकरण तथा खोजउद्धार कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले कृत्रिम अभ्यास कार्यक्रम सञ्चालन गरिएको हो ।
अभ्यासका क्रममा नदीमा फसेका व्यक्तिको उद्धार, डोरी तथा र्याफ्ट प्रयोग गरी सुरक्षित स्थानमा स्थानान्तरण, पहिरो तथा भिरालो क्षेत्रमा फसेकाको उद्धार, घाइतेलाई प्राथमिक उपचारसहित अस्पतालसम्म पुर्याउने प्रक्रिया लगायतका गतिविधि प्रदर्शन गरिएको थियो ।
यसमार्फत सुरक्षा निकायको तयारी, समन्वय र शीघ्र प्रतिकार्य क्षमताको परीक्षण तथा प्रदर्शन गरिएको आयोजकले जनाएको छ ।
संयुक्त अभ्यास समापन कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरका सशस्त्र प्रहरी नायव महानिरीक्षक अञ्जनीकुमार पोखरेलले विपद् व्यवस्थापन बेस खुर्कोटमा खोज तथा उद्धारका लागि आवश्यक स्रोतसाधनको अभाव रहेको बताउनुभयो ।
उहाँले खुर्कोट क्षेत्रमा नौ जना तालिमप्राप्त गोताखोर भए पनि आवश्यक उपकरणको कमीका कारण उद्धार कार्य प्रभावित बन्ने गरेको उल्लेख गर्नुभयो ।
“र्याफ्ट बोट, मोटर बोट, गोताखोर सेटजस्ता आधारभूत सामग्रीको व्यवस्थापन गर्न सकिए विपद्का बेला उद्धार कार्य अझ प्रभावकारी बनाउन सकिन्छ ।” उहाँले भन्नुभयो, “यसका लागि स्थानीय तहको सहकार्य अपरिहार्य छ ।”
मन्थली नगरपालिका, रामेछापका प्रमुख लव श्रेष्ठले विपद्जन्य घटनामा प्रभावकारी उद्धारका लागि तीनै तहका सरकारले आवश्यक स्रोतसाधन व्यवस्थापनमा प्राथमिकता दिनुपर्ने बताउनुभयो । उहाँले योजनाबद्ध पूर्वतयारीमार्फत जनधनको क्षति न्यूनीकरण गर्न सकिने धारणा राख्नुभयो ।
सिन्धुलीका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले मनसुनजन्य विपद्को जोखिम बढ्दै गएको सन्दर्भमा पूर्वतयारीस्वरूप गरिएको अभ्यासले उद्धारकर्मीको क्षमता अभिवृद्धिमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले विपद् न्यूनीकरण, खोज तथा उद्धार कार्यमा सुरक्षा निकायलाई उच्च मनोबलका साथ सक्रिय रहन आग्रह गर्नुभयो ।
फिक्कल गाउँपालिका अध्यक्ष पार्वती सुनुवारले सिन्धुली जिल्ला विपद्को दृष्टिले संवेदनशील रहेको उल्लेख गर्दै सडक दुर्घटना, नदीजन्य जोखिम तथा पहिरो यहाँका प्रमुख चुनौती भएको बताउनुभयो ।
आयोजकका अनुसार विपद्का घटना, तिनको प्रभाव तथा जोखिमको विश्लेषण गर्दै सम्भावित क्षति न्यूनीकरणका लागि आवश्यक समन्वय, पूर्वतयारी र कार्यजिम्मेवारी स्पष्ट पार्ने उद्देश्यले अभ्यास सञ्चालन गरिएको हो ।
साथै सुरक्षा निकाय, स्थानीय तह तथा सरोकारवाला निकायबीच एकीकृत र समन्वयात्मक कार्यप्रणाली विकास गरी विपद्का समयमा शीघ्र तथा प्रभावकारी प्रतिकार्य सुनिश्चित गर्ने लक्ष्य राखिएको जनाइएको छ ।
यस प्रकारका संयुक्त अभ्यासले सिन्धुलीसहित आसपासका क्षेत्रमा आउन सक्ने बाढी, पहिरो तथा अन्य विपद्का घटनामा सुरक्षा निकायको उद्धार क्षमता, समन्वय र परिचालनलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिको आयोजना तथा नेपाली सेना श्री भवानी बक्स गणको अगुवाइमा सञ्चालन गरिएको उक्त अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल रेडक्रस सोसाइटी, विभिन्न सरकारी तथा गैरसरकारी निकाय र स्थानीयवासीको सहभागिता रहेको थियो ।