मानव आवाज

२०८३ जेष्ठ १ गते
00: 00: 00
२०८३ जेष्ठ १ गते

श्रीकृष्ण बिक मृत्यु प्रकरण: छानबिन समितिद्वारा जिम्मेवार प्रहरीमाथि कारबाही सिफारिस

सिन्धुली । गोलन्जोर गाउँपालिका–७ खुर्कोटस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा मृत्यु भएका श्रीकृष्ण बिक प्रकरणमा गठित छानबिन समितिले जिम्मेवार प्रहरी अधिकारीहरूमाथि विभागीय कारबाही गर्न सिफारिस गरेको छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका डीआईजी दिनेश आचार्यको नेतृत्वमा गठित समितिले आफ्नो प्रतिवेदन प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई बुझाएको छ । प्रहरी प्रधान कार्यालयले उक्त प्रतिवेदन गृह मन्त्रालयमा पठाइसकेको जनाएको छ ।

प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेका अनुसार समितिले घटनाको विस्तृत अध्ययन, स्थलगत निरीक्षण तथा पोस्टमार्टम रिपोर्टको आधारमा तथ्यसहितको प्रतिवेदन तयार पारेको हो ।

सुनकोशी गाउँपालिका–३ जुम्लिडाँडाका २३ वर्षीय श्रीकृष्ण बिकलाई वैशाख ३ गते ललितपुरको सातदोबाटोबाट पक्राउ गरी सिन्धुली ल्याइएको थियो ।

वैशाख ७ गते उनी हिरासतभित्रको शौचालयमा आफ्नै शर्टको पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेका थिए ।

घटनापछि स्थानीयवासी तथा केही जनप्रतिनिधिले मृत्यु शङ्कास्पद रहेको भन्दै निष्पक्ष छानबिनको माग गर्दै विरोध जनाएका थिए ।

तर, समितिले त्रिवि शिक्षण अस्पतालमा चार जना चिकित्सकद्वारा गरिएको पोस्टमार्टम रिपोर्ट तथा घटनास्थलबाट सङ्कलित प्रमाणका आधारमा बिकको मृत्यु झुन्डिएर नै भएको निष्कर्ष निकालेको जनाएको छ । रिपोर्टमा मृतकको शरीरमा कुनै चोटपटक वा निलडाम नदेखिएको उल्लेख गरिएको छ ।

समितिले हिरासत सुरक्षा व्यवस्थामा कमजोरी देखिएको निष्कर्ष निकाल्दै इलाका प्रहरी कार्यालय खुर्कोटका इन्चार्ज इन्स्पेक्टर वसन्त भुजेल तथा घटनाको समयमा हिरासत ड्युटीमा रहेका प्रहरी कर्मचारीमाथि विभागीय कारबाही गर्न सिफारिस गरेको छ ।

वैशाख ११ गते गठन गरिएको पाँच सदस्यीय समितिले पोस्टमार्टम रिपोर्ट प्राप्त हुन ढिलाइ भएका कारण निर्धारित समयभन्दा केही पछि प्रतिवेदन बुझाएको हो ।

समितिले भविष्यमा यस्ता घटना दोहोरिन नदिन हिरासतभित्र मानव अधिकार तथा मौलिक अधिकारको संरक्षण सुनिश्चित गर्दै सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउन प्रहरी प्रधान कार्यालयलाई आवश्यक सुझावसमेत दिएको छ ।

Author

Share the News

Recent News

Related News